आज फागुन २१ गते बिहीबार देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ ।
मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।
यस निर्वाचनमार्फत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष० तर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
उनीहरूका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
यसपटकको चुनावमा प्रत्यक्षतर्फ ६५ राजनीतिक दलबाट तीन हजार ४०६ उम्मेदवार ९३,०१७ पुरुष, ३८८ महिला र १ अन्य० चुनावी मैदानमा छन् भने समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार १,३६३ पुरुष र १,७७२ महिला प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्रको सक्कलप्रति नभएका मतदातालाई मतदानबाट वञ्चित नहुने व्यवस्था गरेको छ ।
त्यस्ता मतदाताले परिचयपत्रको विकल्पमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कलप्रति देखाएर पनि मतदान गर्न सक्नेछन् ।
साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिइने आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
यसका लागि ७९ हजारभन्दा बढी नेपाली सेना, ७५ हजार नेपाल प्रहरी, ३४ हजार सशस्त्र प्रहरी, १ हजार ९०० भन्दा बढी राष्ट्रिय अनुसन्धानका अधिकारी र करिब डेढ लाख म्यादी प्रहरीसहितको सुरक्षा फौज परिचालन गरिएको छ ।
निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन् ।
