काठमाडौं । नेपाली कांग्रेसका नेता, राजनीतिक विश्लेषक एवम लेखक शंकर तिवारीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत परिणामबाट कांग्रेस अतालिनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।
शनिबार एक प्रेस वक्तव्य जारी गर्दै तिवारीले कुनैपनि निर्वाचनको परिणाम चिरकालिक नहुने, खास समयको खास अभिव्यक्ति मात्र हुने, त्यसको औचित्य विविध कारणले समयभन्दा अगाडि क्षयीकरण भएर जाने औंल्याएका छन् ।
उनले लेखेका छन्,‘कांग्रेस पार्टीले लिएको मध्यमार्गी बाटो नै प्रत्येक संकटमा देश र जनताले खोजेको निकासको बाटो साबित भएको छ। आफ्ना सिद्धान्त र आदर्शको ठेगाना नभएको, संविधानकाप्रतिको अपनत्व सिद्ध नभएको र औपचारिक रूपमा पार्टीको आकार ग्रहण नगरिसकेको शक्तिले प्राप्त गरेको मतबाट नेपाली कांग्रेस हतास हुनुपर्ने र अत्तालिनुपर्ने केही पनि छैन,’ उनले लेखेका छन् ।
नेता तिवारीले वक्तव्यमा भनेका छन्,‘नेपाली कांग्रेसलाई समयानुकूल बनाउन विशेष महाधिवेशनको उपलब्धिहरूलाई जगेर्ना गरेर अगाडि बढ्नुभन्दा अर्को विकल्प छैन। पार्टी भित्रको उकुसमुकुस वैधानिक रुपमा विस्फोट भएको विशेष महाधिवेशन माथि प्रश्न गर्नु पश्चगमनको यात्रा हुनेछ। हामीले बिर्सन नहुने तथ्य के हो भने हामीले विशेष महाधिवेशनमार्फत अत्यन्त ढिलो गरिकन रोगको निदान खोजेको रहेछौं । उक्त सत्यलाई हृदयङ्गम गरेर हामीले
यथाशीघ्र नियमित महाधिवेशनतर्फ अग्रसर हुनुपर्छ। त्यसका लागि विशेष महाधिवेशनबाट निर्वाचित भएको नेतृत्वले सुझबुझ पूर्वक निर्णय लिएर मार्ग प्रशस्त गर्नुपर्छ।’
प्रेस वक्तव्य :
भाद्र २३ र २४ गतेको जेन्जी उथलपुथलको जगमा घोषित र फागुन २१ गते सम्पन्न निर्वाचन मार्फत आम मतदाताले परिवर्तनको पक्षम स्पष्ट र अभूतपूर्व अभिमत जाहेर गरेका छन्। वालेन( रवि नेतृत्वको विजयी शक्ति रास्वपालाई लाई हार्दिक बधाई दिँदै आम जनताको आशा र भरोसाको कसीमा खरो उत्रन सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।
निर्वाचनको मत परिणामले निर्वाचनको मुखमा विशेष महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको नेपाली कांग्रेसलाई ऐतिहासिक सबक सिकाएको छ। यस्तो परिस्थितिमा नेपाली कांग्रेस कुनै अलमल र दुविधा बिना, आपसी आरोप प्रत्यारोपमा अलमलिने भन्दा पनि आफ्नो औचित्य थापित गर्न नयाँ सिराबाट आत्ममन्थन गर्न जरुरी भएको छ। त्यसका लागि पार्टी भित्र बृहत आत्मसमीक्षा , संवाद र सहकार्यका माध्यमबाट नै अगाडिको बाटो तय गर्दै गर्दा दुई प्रकारका प्रवृति देखा परेका छन् ( पहिलो विशेष महाधिवेशन ठीक थियो र अब त्यसको जगमा अगाडि बढ्नुपर्छ भन्ने । दोश्रो , विशेष महाधिवेशन गलत थियो र त्योभन्दा अगाडिबाटै संगठन अगाडि बढ्नुपर्छ भन्ने ।
नेपाली कांग्रेस स्थापनाकालदेखि नै राष्ट्रिय शक्ति भएकाले सत्तापक्षमा हुँदा होस्, प्रतिपक्षमा हुँदा होस्, निर्वासनमा वा सडकमा हुँदा किन नहोस् नेपाली कांग्रेसले आफ्नो राष्ट्रिय दायित्व निर्वाह गरेको छ। कांग्रेसको आजको आवश्यकता भनेको त्यो राष्ट्रिय दायित्व निर्वाह गर्न सक्ने शक्तिका रुपमा कांग्रेसलाई कसरी रुपान्तरण गर्ने भन्ने हो।
नेपालको इतिहासमा सर्वाधिक पटक चुनाव जितेको र पराजित भएको शक्ति नेपाली कांग्रेस नै हो। कांग्रेस कहिले पनि तेस्रो शक्ति बनेको छैन। नेपाली कांग्रेस अहिले पनि संसद को दोश्रो शक्तिको रुपमा रहनेछ, वैधानिक विपक्षी बनेर। यस्तो अवस्थामा नेपाली कांग्रेसलाई समयानुकूल बनाउन विशेष महाधिवेशनको उपलब्धिहरूलाई जगेर्ना गरेर अगाडि बढ्नुभन्दा अर्को विकल्प छैन। पार्टी भित्रको उकुसमुकुस वैधानिक रुपमा विस्फोट भएको विशेष महाधिवेशन माथि प्रश्न गर्नु पश्चगमनको यात्रा हुनेछ। हामीले बिर्सन नहुने तथ्य के हो भने हामीले विशेष महाधिवेशन मार्फत अत्यन्त ढिलो गरिकन रोगको निदान खोजेको रहेछौं ( उक्त सत्यलाई हृदयङ्गम गरेर हामीले यथाशीघ्र नियमित महाधिवेशन तर्फ अग्रसर हुनुपर्छ। त्यसका लागि विशेष महाधिवेशनबाट निर्वाचित भएको नेतृत्वले सुझबुझ पूर्वक निर्णय लिएर मार्ग प्रशस्त गर्नुपर्छ।कुनै पनि निर्वाचनको परिणाम चिरकालिक हुँदैन। त्यो खास समयको खास अभिव्यक्ति हुन्छ। त्यसको औचित्य विविध कारणले समयभन्दा अगाडि क्षयीकरण भएर जान्छ। नेपाली इतिहासमा अनेक पटक त्यो भएको छ।
कांग्रेस पार्टीले लिएको मध्यमार्गी बाटो नै प्रत्येक संकटमा देश र जनताले खोजेको निकासको बाटो साबित भएको छ। आफ्ना सिद्धान्त र आदर्शको ठेगाना नभएको, संविधानका प्रतिको अपनत्व सिद्ध नभएको र औपचारिक रूपमा पार्टीको आकार ग्रहण नगरिसकेको शक्तिले प्राप्त गरेको मतबाट नेपाली कांग्रेस हतास हुनुपर्ने र अत्तालिनुपर्ने केही पनि छैन।
बीपी कोइरालाले भने जस्तै लोकतन्त्रमा सत्तापक्षको भन्दा अधिक महत्व प्रतिपक्षको हुन्छ। सत्तापक्षलाई लिकमा राख्ने दायित्व प्रतिपक्षको हुन्छ। नेपाली जनताले कांग्रेसलाई त्यो अवसर पुन एकपटक दिएका छन्। विशेष महाधिवेशनबाट लिएको कार्यदिशाको निरन्तरताले नै पार्टीलाई त्यसका लागि काबिल र तयार बनाएर राख्न सक्छ। नेपाली कांग्रेस अब विनम्रतापूर्वक वैधानिक, व्यावसायिक र कर्तव्य निष्ठ प्रतिपक्ष हुनेछ। नेपाली कांग्रेसको सम्पूर्ण ध्यान र शक्ति त्यतातर्फ लक्षित हुनुपर्छ।
नेपाली कांग्रेसका तमाम कार्यकर्ता शुभेच्छुक र समर्थकहरुलाई अनेक संकटका बावजुद निश्चिन्त भएर कांग्रेसकाप्रति देखाउनु भएको अटुट , विश्वासलाई सम्मान र आभार प्रकट गर्दछु।
जय नेपाल १
शंकर तिवारी ,
नेपाली कांग्रेस
२३ फाल्गुण, २०८२