सुदूरपश्चिममा निःशुल्क स्वास्थ्य सेवा विस्तारका लागि सहकार्य, गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने

सुदूरपश्चिमका दुर्गम तथा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ओम मेघश्री फर्मास्युटिकल्स र सुदूरपश्चिम रोयल्स फाउन्डेशान बीच सहकार्य सम्झौता सम्पन्न भएको छ। “स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प” भन्ने मूल भावना बोकेर अघि बढिरहेको औषधि उत्पादनसम्बन्धी संस्थाले खेलकुदसँगै सामाजिक सेवामा सक्रिय फाउण्डेसनसँग हातेमालो गर्दै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना अघि बढाएको हो।

सम्झौतापत्रमा औषधि कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ  र फाउण्डेसनका अध्यक्ष स्वतन्त्र प्रताप शाह ले हस्ताक्षर गरेका छन्। यस सहकार्यमार्फत सुदूरपश्चिमका दुर्गम गाउँबस्तीमा बसोबास गर्ने नागरिकहरूलाई विशेषज्ञ चिकित्सकको परामर्श, आधारभूत स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सुदूरपश्चिमका धेरै ग्रामीण बस्तीहरू अझै पनि सहज स्वास्थ्य सेवाबाट टाढा रहेका छन्। भौगोलिक विकटता, आर्थिक अभाव र स्वास्थ्य संस्थाको पहुँच कम भएकाले धेरै नागरिक सामान्य रोगको उपचार गर्न पनि ठूलो कठिनाइ भोग्न बाध्य छन्। यही यथार्थलाई मध्यनजर गर्दै दुबै संस्थाले संयुक्त रूपमा गाउँगाउँमा पुगेर स्वास्थ्य सेवा पुर्‍याउने संकल्प गरेका हुन्।

यो सहकार्यले केवल उपचार सेवा उपलब्ध गराउने मात्र होइन, स्वास्थ्य सचेतना फैलाउने कामसमेत गर्ने अपेक्षा गरिएको छ। स्वास्थ्य शिविरमार्फत रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानी, पोषण, सरसफाइ तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे स्थानीय नागरिकलाई जानकारी दिइनेछ। यसले ग्रामीण समुदायमा स्वास्थ्यप्रति सकारात्मक सोच र व्यवहार विकास गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

दुवै संस्थाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सहकार्य गर्नु अत्यन्त महत्वपूर्ण पहल मानिएको छ। यस्तो अभियानले दुर्गम क्षेत्रका नागरिकमा आशा र भरोसा जगाउने मात्र होइन, समाजमा सेवा भाव र मानवताको सन्देश फैलाउने काम पनि गर्ने अपेक्षा गरिएको छ।

यस सहकार्यले सुदूरपश्चिमका हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। गाउँगाउँमा पुग्ने स्वास्थ्य शिविरले उपचार नपाएर पीडित बनेका धेरै नागरिकका लागि राहतको ढोका खोल्नेछ। मानव सेवा नै सबैभन्दा ठूलो सेवा भन्ने भावनासहित सुरु गरिएको यो पहलले सुदूरपश्चिमका नागरिकको स्वास्थ्य सुरक्षामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।