चैत १२ गते दिउँसो २ बजे निर्वाचित सांसदको शपथ

संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूलाई संसदीय दलको कार्यालय उपलब्ध गराएको छ।

सचिवालयले आज बिहीबारदेखि राजनीतिक दलहरूलाई कार्यालय उपलब्ध गराएको हो । संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण देखिएपनि उपलब्ध स्रोतसाधनभित्रै रहेर कार्यालय व्यवस्थापन गरिएको हो । दलका प्रतिनिधिहरूलाई कार्यलयको प्रत्यक्ष अवलोकन समेत गराइएको छ ।

ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पहिला नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ। यस्तै, अन्य दललाई संख्याअनुसार स्थान बाँडफाँट गरिएको सचिवालयले जनाएको छ।

सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी पनि गरेको छ। संसदहरूको शपथग्रहण अगाडी ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष शपथ गराइनेछ। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने कार्यक्रम छ ।

निर्वाचन आयोगले निर्वाचन परिणाम सचिवालयमा पठाउने बित्तिकै ज्येष्ठ सदस्यको पहिचान हुने छ । ज्येष्ठ सदस्य पहिचान गरेर शपथग्रहणको लागि ३ जनाको नाम राष्ट्रपति कार्यालय पठाइने छ । राष्ट्रपतिले सबैभन्दा ज्येष्ठ एक सदस्यलाई शपथग्रहण गराउनेछन्।

‘शपथग्रहण यही चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी भएको छ ।

सचिवालयले आज बिहीबार संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राजनितिक दलहरूसँग शपथग्रहण, कार्यालय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रमका बारेमा छलफल गरेको थियो। छलफलमा सांसदहरुको अभिमुखीकरण कार्यक्रमबारमा पनि दलहरूसँग सुझाव सचिवालयले सुझाब समेत लिएको छ ।