काठमाडौं । मुक्तिनाथ विकास बैंकले “अवसरको झोला” अभियानमार्फत आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी सामग्री वितरण गर्दै आएको छ।
हरेक बालबालिकामा सपना भए पनि ती पूरा गर्न समान अवसर नहुँदा उत्पन्न चुनौतीलाई आत्मसात गर्दै बैंकले यो अभियान सञ्चालन गरेको हो। साधारण देखिने विद्यालय झोला पनि बालबालिकाका लागि अवसर, आत्मविश्वास र उज्ज्वल भविष्यको ढोका बन्न सक्छ भन्ने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको बैंकले जनाएको छ।
कार्यक्रमका क्रममा झोला प्राप्त गर्दा विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी केवल सामग्री प्राप्तिको मात्र नभई “म पनि सक्छु” भन्ने आत्मविश्वासको संकेत भएको सहभागीहरूले बताएका छन्।
यसै अभियानसँगै बैंकले शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालय पोशाक वितरण तथा मेहनती र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको सम्मान समेत गरेको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता जनाएको छ। हालसम्म सुर्खेत, कालिकोट, धनुषालगायत जिल्लामा करिब ५०० भन्दा बढी विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको बैंकले जनाएको छ।
