याम्बलिङ्ग हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौँ । याम्बलिङ्ग हाइड्रोपावर लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ।

सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड ले आज बिहान एक कार्यक्रममार्फत आईपीओ बाँडफाँड सम्पन्न गरेको हो।

कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल २ लाख १० हजार कित्ता सेयर निष्कासन गरेको थियो। कम्पनीले कुल २८ लाख कित्ता सेयर निष्कासन गर्ने योजना अन्तर्गत पहिलो चरणमा सो हिस्सा बिक्रीमा ल्याएको हो।

बाँडफाँड विवरणअनुसार कुल ८३ हजार ४२० जनाले आवेदन दिएका मध्ये ८३ हजार ३९६ आवेदन योग्य ठहरिएका थिए। मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत २१ हजार आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

यद्यपि योग्य आवेदकमध्ये ६२ हजार ३९६ जना लगानीकर्ताको हात खाली रहेको क्यापिटलले जनाएको छ।

कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० फागुन ८ देखि विद्युत उत्पादन सुरु गरिसकेको छ।

कम्पनीको नेतृत्व अध्यक्ष इन्द्र माया तामाङले गरिरहेकी छन् भने सञ्चालक समितिमा उदीधाम बहादुर देवकोटा, नर हांङ राई, समय कर्माचार्य, रोशन शाह र सशीराज श्रेष्ठ रहेका छन्।