आजदेखि हकप्रद शेयर खुला

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज (चैत २६ गते)देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतका दरले हकप्रद शेयर जारी गरेको हो। यसअनुसार विद्यमान शेयरधनीहरूले आफ्नो प्रत्येक १०० कित्ता शेयर बराबर थप १० कित्ता नयाँ शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य २३ करोड १० लाख रुपैयाँ बराबर रहेको छ।

यस निष्काशनका लागि कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरिसकेको छ। त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र हकप्रद शेयर भर्नका लागि योग्य हुनेछन्।

योग्य शेयरधनीहरूले आगामी २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीले आफ्नो पूँजी वृद्धि गर्ने योजनाअनुसार हकप्रद शेयर निष्काशन गरेको जनाएको छ।