काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले ७ प्रतिशत बोनस शेयरका आधारमा नयाँ मूल्य निर्धारण गरेको हो।
समायोजनपछि कम्पनीको शेयरमूल्य ६०३ रुपैयाँ ७४ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार उक्त शेयर प्रतिकित्ता ६४६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
कम्पनीले आगामी २०८३ वैशाख २७ गते काठमाडौँको कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले ७ प्रतिशत बोनस शेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी सभामा कम्पनीलाई अन्य क्षेत्रमा लगानी गर्न सहज बनाउन होल्डिङ कम्पनीको रूपमा विकास गर्ने, नाम परिवर्तन गर्ने, हकप्रद शेयर जारी गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
साथै सञ्चालक समितिमा दुई जना सदस्यको निर्वाचन र लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।
कम्पनीको शेयर समायोजनसँगै लगानीकर्ताहरूले अब नयाँ मूल्यमा कारोबार गर्न सक्नेछन्।
