काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले शुक्रबार (वैशाख ४ गते) दुवै समूहको शेयर बाँडफाँड पूरा गरेको हो।
कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर स्थानीय बासिन्दाका लागि र ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेको थियो।
स्थानीय बासिन्दातर्फ १२ लाख कित्ता शेयरका लागि १ लाख २० हजार जनाले आवेदन दिएका थिए भने वैदेशिक रोजगारीतर्फ ३ लाख ३ हजार ६७ कित्ताका लागि ३० हजार ३०६ जनाले आवेदन दिएका थिए।
आवेदन संकलन स्थानीयतर्फ फागुन २७ देखि चैत ११ गतेसम्म र वैदेशिक रोजगारीतर्फ फागुन २७ देखि चैत १ गतेसम्म गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आवेदकहरूले बाँडफाँडको नतिजा बिक्री प्रबन्धकको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्। साथै, शेयर नपरेका आवेदकहरूको रकम भोलि (वैशाख ७ गते) देखि सम्बन्धित बैंक खातामै फिर्ता गरिने व्यवस्था गरिएको छ।
यस आईपीओ बाँडफाँड सफलतापूर्वक सम्पन्न भएसँगै परियोजनाप्रति लगानीकर्ताको चासो उच्च रहेको संकेत देखिएको छ।
