नेपाल चेम्बर अफ कमर्स केवल एउटा संस्था मात्र होइन, धेरैका लागि यो भावना, इतिहास र प्रेरणाको प्रतीक हो । मेरो व्यक्तिगत जीवनमा त यसले अझ गहिरो अर्थ बोकेको छ । चेम्बर सम्झिँदा सबैभन्दा पहिले मेरो स्वर्गीय बुवाको अनुहार आँखाअगाडि आउँछ । उहाँको जीवनको ठूलो हिस्सा चेम्बरसँगै बित्यो कार्यसमिति सदस्यदेखि महासचिव हुँदै अध्यक्षसम्मको यात्राले उहाँलाई मात्र होइन, हाम्रो परिवारलाई पनि एउटा विशेष पहिचान दियो ।
हाम्रो घरमा चेम्बर कुनै संस्था होइन, एक भावनात्मक सम्बन्ध हो । आज पनि घरमा चेम्बरको कुरा उठ्दा केवल औपचारिक चर्चा मात्र हुँदैन, त्यो एक प्रकारको सम्झना, गर्व र प्रेरणाको विषय बन्छ । मेरो बच्चासम्मले पनि चेम्बरलाई एउटा विशेष मूल्यका रूपमा बुझ्न थालेका छन् । यसरी एउटा संस्थाले पुस्तौँपुस्ता जोड्ने भावनात्मक सेतु निर्माण गर्न सक्नु आफैँमा ठूलो उपलब्धि हो ।
बुवाको कार्यकालका अनेक घटनाहरू स्मृतिमा ताजै छन् । विशेषगरी मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने बेलामा चेम्बरले उठाएको आवाज, त्यसबेलाका आन्दोलन, बहस र सरकारसँगको संवाद अझै सम्झनामा छन् । त्यो केवल विरोध मात्र थिएन, त्यो व्यवसायीहरूको हकहित र आर्थिक स्थायित्वका लागि गरिएको संघर्ष थियो । स्वदेश र विदेशमा भएका प्रतिनिधिमण्डलका भ्रमणहरू, मन्त्रालयहरूमा गरिएका लबिङहरू यी सबैले एउटा कुरा प्रस्ट देखाउँछन निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड हो ।
यद्यपि, विगतका ती प्रयासहरूको बाबजुद पनि हामीले आजको दिनमा आफैँलाई तुलना गर्दा केही कमीहरू महसुस गर्न‘पर्छ । हाम्रा छिमेकी राष्ट्रहरूले जति तीव्र गतिमा आर्थिक प्रगति गरेका छन्, त्यसको तुलनामा हामी पछाडि परेको यथार्थलाई स्वीकार्नैपर्छ । यसको कारण केवल एउटा पक्षमा सीमित छैन । सरकारी नीति, कार्यान्वयनको कमजोरी, अस्थिर राजनीतिक अवस्था, र हाम्रो कार्यसंस्कृतिमा रहेका चुनौतीहरू सबैले यसमा भूमिका खेलेका छन् ।
नेपालको बजार सानो हुनु पनि एउटा चुनौती हो । तर त्यो नै सबैभन्दा ठूलो कारण होइन । मुख्य समस्या भनेको नीतिगत अस्थिरता हो । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्तिले दीर्घकालीन लगानी र विकासलाई अवरुद्ध गरेको छ । दिगो आर्थिक विकासका लागि आवश्यक छ नीतिको निरन्तरता । चाहे जुनसुकै सरकार आए पनि, आर्थिक विकाससँग सम्बन्धित आधारभूत नीतिहरू स्थिर रहनुपर्छ । यसले मात्र लगानीकर्तालाई विश्वास दिलाउन सक्छ र आर्थिक गतिविधिलाई गति दिन सक्छ ।
स्टार्टअपको सन्दर्भमा हेर्दा पनि यस्तै चुनौतीहरू देखिन्छन् । सरकारले अहिले २० लाख रुपैयाँसम्मको ऋण सुविधा दिएको छ, जुन स्वागतयोग्य कदम हो । तर सबै स्टार्टअपका लागि यो पर्याप्त हुँदैन । केहीका लागि यो रकम धेरै हुन सक्छ भने केहीका लागि अत्यन्तै न्यून । त्यसैले स्टार्टअपहरूलाई वर्गीकरण गरेर आवश्यकताअनुसार लगानी गर्ने नीति आवश्यक छ ।
स्टार्टअप भनेको एकैपटक लगानी गरेर तुरुन्त नाफा आउने क्षेत्र होइन । धेरैजसो स्टार्टअपहरूलाई सुरुका एक–दुई वर्षसम्म निरन्तर लगानी आवश्यक पर्छ । ट्रेडिङ व्यवसायभन्दा फरक, उत्पादन वा सेवा आधारित स्टार्टअपहरूमा प्रतिफल आउन समय लाग्छ । त्यसैले सरकारले क्रमिक लगानीको व्यवस्था गर्न‘पर्छ । यसले मात्र स्टार्टअपहरूको वास्तविक विकास सम्भव हुन्छ ।
महिला उद्यमशीलताको क्षेत्रमा पनि केही सकारात्मक परिवर्तनहरू देखिएका छन् । आज महिलाहरू व्यवसायमा सक्रिय छन्, नेतृत्वमा छन् । तर अन्तर्राष्ट्रिय स्तरमा हेर्दा अझै धेरै काम गर्न बाँकी छ । हाम्रा आमा–हजुरआमाको तुलनामा अहिलेको अवस्था राम्रो भए पनि, विश्वस्तरमा प्रतिस्पर्धा गर्न अझै सशक्त बनाउनुपर्ने आवश्यकता छ ।
यसका लागि केवल तालिम मात्र पर्याप्त हुँदैन । सीप विकाससँगै बजारको पहुँच, ब्रान्डिङ, र मार्केटिङ पनि उत्तिकै महत्वपूर्ण हुन्छ । महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नका लागि सरकारी लगानी आवश्यक छ । ‘मार्केट मेकर’ र ‘ब्रान्ड इमेजिङ’मा ध्यान दिन सके मात्र महिला उद्यमशीलता सशक्त बन्न सक्छ ।
चेम्बरको ७५ वर्षको इतिहास आफैँमा एउटा प्रेरणादायी यात्रा हो । यस अवसरमा ऐतिहासिक व्यक्तित्वहरूको सम्मान गर्ने निर्णय अत्यन्तै सार्थक थियो । किनभने आज हामी जहाँ छौँ, त्यो अघिल्लो पुस्ताको त्याग, संघर्ष र समर्पणकै परिणाम हो । नीहरूले गरेको मेहनतका कारण हामीले त्यो स्तरको संघर्ष गर्न‘ परेन । त्यसैले उनीहरूको सम्मान गर्न‘ हाम्रो कर्तव्य पनि हो । विकासको सन्दर्भमा अर्को महत्वपूर्ण विषय बजेट वितरण हो । नेपालमा प्राय: ‘कनिका छर्ने’ शैलीको बजेट आउने गरेको छ थोरै–थोरै रकम धेरै ठाउँमा बाँड्ने। यसले देखावटी सन्तुलन त दिन्छ, तर दिगो विकास भने गर्दैन । बरु ठूला र प्रभावकारी परियोजनामा केन्द्रित भएर लगानी गर्न‘पर्छ । एक–दुई अर्बका ठूला परियोजनाहरूले मात्र वास्तविक परिवर्तन ल्याउन सक्छन् ।
सरकारले आफ्नो कार्यकाल हेरेर होइन, देशको दीर्घकालीन हितलाई केन्द्रमा राखेर बजेट ल्याउनुपर्छ । रोजगारी सिर्जना, आर्थिक गतिविधिको विस्तार, र समग्र अर्थतन्त्रको सुधारलाई प्राथमिकता दिनुपर्छ । यसले मात्र देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सक्छ । आर्थिक विकास कुनै एक पक्षको जिम्मेवारी होइन ।
सरकार, निजी क्षेत्र, र समाज सबैले मिलेर काम गर्न‘पर्छ । महिला होस् वा पुरुष, युवा होस् वा अनुभवी सबैको सहभागिता आवश्यक छ । विकासको मेरुदण्ड भनेकै आर्थिक गतिविधि हो, र त्यसलाई सशक्त बनाउन सामूहिक प्रयास अपरिहार्य छ । मेरो लागि चेम्बर केवल विगतको सम्झना होइन, भविष्यको आशा पनि हो । बुवाको योगदानले दिएको प्रेरणा आज पनि जिउँदो छ । त्यो प्रेरणाले मलाई मात्र होइन, नयाँ पुस्तालाई पनि देशको आर्थिक विकासमा योगदान गर्न उत्प्रेरित गरिरहेको छ । यही भावनासहित, हामीले विगतको सम्मान गर्दै भविष्यतर्फ दृढतापूर्वक अघि बढ्नुपर्छ ।
उर्मिला श्रेष्ठ, उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स