प्रभु इन्स्योरेन्सको ३०औँ साधारण सभा सम्पन्न: दिगो विकास, उत्कृष्ट व्यवस्थापन र लाभांश वितरणमा जोड

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको ३०औँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र मल्लले कम्पनीको विगतको उपलब्धि, वर्तमान रणनीति र भविष्यको स्पष्ट दिशालाई प्रस्तुत गर्दै शेयरधनीहरूप्रति आभार व्यक्त गरे ।

सभामा अध्यक्ष मल्लले कम्पनीले दिगो सफलता हासिल गर्न अल्पकालीन तथा दीर्घकालीन रणनीतिहरूलाई सन्तुलित रूपमा अगाडि बढाएको उल्लेख गरे । सूचना प्रविधिलाई आधुनिक बीमा सेवाको मेरुदण्डका रूपमा आत्मसात गर्दै ग्राहकलाई छिटो, सहज र विश्वासनीय सेवा प्रदान गर्ने लक्ष्यका साथ कम्पनी अघि बढिरहेको उनले बताए । साथै, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण तथा जोखिम व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको उनले प्रष्ट पारेका छन् ।

“प्रभुमा बीमा गरौं, निर्धक्क रहौं” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै कम्पनीले व्यवसाय विस्तार, मानव संसाधन विकास, कर्मचारी तालिम, आधुनिक व्यवस्थापन र ब्रान्ड सुदृढीकरणमा उल्लेखनीय प्रगति गरेको मल्लले जानकारी दिए । कर्मचारीलाई संस्थाको मुख्य आधार मान्दै उनीहरूको क्षमता अभिवृद्धि र प्रोत्साहनका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताए ।

प्रतिकूल आर्थिक वातावरणका बाबजुद कम्पनीले वित्तीय क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गर्न सफल भएको जनाइएको छ । खर्च नियन्त्रण र पूँजी व्यवस्थापनमा ध्यान दिँदै कम्पनीले आफ्नो वित्तीय सूचकहरूमा सुधार ल्याएको छ । अन्तर्राष्ट्रिय स्तरमा समेत कम्पनीले उल्लेखनीय सफलता हासिल गरेको छ । इन्डियन चेम्बर अफ कमर्सद्वारा थाइल्याण्डको बैंककमा आयोजित “इमर्जिङ एसिया अवार्ड” मा प्रभु इन्स्योरेन्सले “Best General Insurance Company of the Year, Nepal” र “Company with the Best Risk Management Strategy of the Year – General, Nepal” जस्ता प्रतिष्ठित दुई अवार्ड जित्न सफल भएको जानकारी दिइयो । यस उपलब्धिले कम्पनीको व्यवस्थापन क्षमता र विश्वसनीयतालाई अझ मजबुत बनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट ९.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसमा ७.७० प्रतिशत बोनस शेयर र ०.५४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समावेश रहेको छ । कुल रु. १५,५७,३७,९५४ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गरिएको छ ।

सभामा कम्पनीको वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा भावी योजनाहरू प्रस्तुत गर्दै नेपाल बीमा प्राधिकरणको निर्देशन, नेपाल धितोपत्र बोर्डको सुशासन निर्देशिका र कम्पनी ऐन, २०६३ अनुरूप तयार पारिएको विवरण अनुमोदनका लागि पेश गरिएको जानकारी दिइयो । अध्यक्ष मल्लले शेयरधनी तथा सरोकारवालाहरूको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा, दिगो वृद्धि र सबैको समृद्धिको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।