राजनीतिले फट्को मारेजस्तो व्यवसाय हुन सकेन

राजनीतिक परिवर्तन तीव्र भए पनि व्यावसायिक विकास सुस्त, पर्यटन क्षेत्रको सम्भावना सदुपयोग गर्न नीति र स्थिरता अपरिहार्य छ

नेपाल चेम्बर अफ कमर्स २००७ सालमा स्थापना भएको नेपालको निजी क्षेत्रको एक ऐतिहासिक संस्था हो । देशमा उद्योग, व्यापार र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना भएको यस संस्थाले आजसम्म आइपुग्दा उल्लेखनीय प्रगति हासिल गरेको छ । दक्षिण एसियामा व्यापार, पर्यटन, जलविद्युत् तथा सूचना प्रविधि (आइटी)जस्ता क्षेत्रमा नेपालले आफ्नो उपस्थिति विस्तार गर्दै गएको छ, जसमा चेम्बरको भूमिका प्रशंसनीय मानिन्छ ।

अग्रज व्यवसायीहरूको दूरदर्शिता, समर्पण र नेतृत्वले यो संस्था अहिलेको अवस्थामा पुगेको हो । उहाँहरूले स्थापना नगरेको भए हामी यस्तो गौरवपूर्ण यात्रा र उपलब्धिको उत्सव मनाउन सक्ने अवस्थामा हुने थिएनौँ । त्यसैले यहाँहरूको योगदानको सम्मान गर्नु हाम्रो कर्तव्य हो ।

तर, राजनीतिक रूपमा नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय परिवर्तन र फड्को मारे पनि उद्योग, व्यापार र व्यावसायिक क्षेत्रले त्यही गतिमा विकास गर्न सकेको छैन । नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता र लगानीमैत्री वातावरणको अभावले व्यावसायिक वृद्धि अपेक्षाअनुसार हुन नसकेको देखिन्छ ।

 

नयाँ सरकारबाट निजी क्षेत्रको ठुलो आशा

२३ र २४ भदौको नवयुवा आन्दोलनपछि गठन भएको नयाँ सरकारप्रति निजी क्षेत्र निकै आशावादी देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा आएको सरकारप्रति निजी क्षेत्र उत्साहित छ, किनकि यसले नयाँ सोच, नयाँ ऊर्जा र परिवर्तनको संकेत दिएको छ ।

नयाँ सरकारप्रति निजी क्षेत्र आशावादी छ, तर स्पष्ट नीति, गुरुयोजना र नियमनविना पर्यटन र व्यवसाय फस्टाउन सक्दैन

निजी क्षेत्रले गरेको लगानीको उचित प्रतिफल प्राप्त हुन आवश्यक छ । तर, कतिपय नीतिगत अस्पष्टता र अव्यावहारिक नियमहरूले व्यवसायीलाई कठिनाइमा पारिरहेको छ । हामीले प्राप्त गर्न सक्ने सफलता र उपलब्धिमा केही कमी देखिएको छ, जुन सुधार गर्न आवश्यक छ ।

सरकारको निजी क्षेत्रप्रतिको व्यवहारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रत्यक्ष प्रभाव पार्दछ । यदि सरकार सहयोगी र व्यवसायमैत्री भयो भने निजी क्षेत्रले पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्छ । अहिलेको सरकारले केही हदसम्म तयारी गरेर आएको संकेत देखिन्छ । विशेषगरी सरकारमा युवाहरूको सहभागिता बढेको छ । उनीहरूको सोच, शैली र कार्यान्वयनमा देखिएको भिन्नताले आशा जगाएको छ । यसले निजी क्षेत्रलाई नयाँ सम्भावनाको ढोका खुल्ने विश्वास दिलाएको छ ।

 

नीति तथा कार्यक्रममा व्यवस्थित गुरुयोजना ल्याउन आवश्यक

नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठुलो योगदान रहेको छ । होटेल, एयरलाइन्स, ट्रेकिङ, ट्राभललगायत क्षेत्रमा भएको लगानी र विकासले आज नेपालले करिब ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता विकास गरिसकेको छ ।
तर, वास्तविकता भने फरक छ । नेपालमा आउने पर्यटकको संख्या अपेक्षाभन्दा निकै कम छ । तथ्यांकअनुसार वार्षिक १२ लाख पर्यटक पनि नाघ्न सकेको छैन । यसले पर्यटन क्षेत्रमा गरिएको ठुलो लगानीको उचित प्रतिफल प्राप्त हुन सकेको छैन ।

अबको अवस्थामा पुरानै तरिकाले पर्यटन व्यवसाय सञ्चालन गरेर अघि बढ्न गाह्रो छ । नयाँ सरकारबाट आउने नीति तथा कार्यक्रम र बजेटले स्पष्ट दिशा दिनुपर्ने आवश्यकता छ । विशेषगरी एक व्यवस्थित गुरुयोजना आवश्यक छ, जसले दीर्घकालीन लक्ष्य निर्धारण गरी कार्यान्वयनको स्पष्ट खाका प्रस्तुत गर्न सकोस् । लक्ष्यविहीन विकासले सही गन्तव्यमा पुग्न सकिँदैन । त्यसैले सरकारले स्पष्ट लक्ष्य निर्धारण गरी सोहीअनुसार योजना बनाउनु जरुरी छ ।

हालसम्म नेपाल आउने पर्यटकको तथ्यांक पनि पूर्ण रूपमा यथार्थपरक छैन । खासगरी सिमावर्ती क्षेत्रका पर्यटकको ठुलो संख्या आधिकारिक रूपमा गणनामा नपर्ने समस्या छ । उनीहरू डिलक्स होटेल, क्यासिनोलगायत क्षेत्रमा आउने भए पनि तथ्यांकमा समावेश हुँदैन । यदि सरकारले यथार्थपरक तथ्यांक संकलन गरी त्यसका आधारमा नीति निर्माण गर्न सक्यो भने पर्यटन क्षेत्रमा ठुलो परिवर्तन सम्भव छ ।

 

अर्थतन्त्रमा पर्यटन उद्योगको योगदान

पर्यटन उद्योग विश्व अर्थतन्त्रको एक महत्वपूर्ण आधारका रूपमा स्थापित भइसकेको छ । नेपालजस्तो प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले सम्पन्न देशका लागि पर्यटन क्षेत्र आर्थिक विकासको प्रमुख इन्जिन बन्ने क्षमता राख्छ ।
पर्यटनले विदेशी मुद्रा आर्जनमा महŒवपूर्ण योगदान पुर्‍याउँछ । नेपाल भ्रमणमा आउने पर्यटकले होटेल, यातायात, भोजन, हस्तकला तथा अन्य सेवामा गर्ने खर्चले देशको वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि हुन्छ । यसले व्यापार घाटा कम गर्न र आर्थिक सन्तुलन कायम गर्न सहयोग पुर्‍याउँछ । त्यसैगरी, पर्यटन उद्योग रोजगारी सिर्जनाको प्रमुख स्रोत हो । होटेल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड सेवा, यातायातलगायत क्षेत्रमा हजारौँ मानिस प्रत्यक्ष रूपमा संलग्न छन् भने कृषि, हस्तकला र निर्माण क्षेत्रमा अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा होमस्टे र सामुदायिक पर्यटनको विकासले स्थानीयस्तरमै आम्दानीका अवसरहरू सिर्जना गरेको छ । यसले ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन महŒवपूर्ण भूमिका खेलेको छ । पर्यटनले पूर्वाधार विकासमा पनि उल्लेखनीय योगदान दिएको छ । सडक, विमानस्थल, सञ्चार, विद्युत् र खानेपानीजस्ता आधारभूत संरचनाको विस्तारमा पर्यटन क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पारेको छ । साथै, पर्यटनले नेपाली कला, संस्कृति, परम्परा र भोजनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सहयोग गरेको छ । यसले सांस्कृतिक संरक्षणसँगै आर्थिक मूल्य सिर्जना गर्ने अवसर प्रदान गरेको छ ।

यद्यपि, पर्यटन उद्योगलाई दिगो र व्यवस्थित बनाउन अझै धेरै काम गर्न बाँकी छ । वातावरण संरक्षण, सेवा गुणस्तर सुधार, नीति स्थिरता र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक छ । साथै, महामारी वा अन्तर्राष्ट्रिय संकटजस्ता परिस्थितिमा पर्यटन क्षेत्रमा पर्ने असरलाई न्यून गर्न दीर्घकालीन रणनीति आवश्यक देखिन्छ ।

 

अनुमतिविना सञ्चालन भएका होटेलको नियमन हुनुपर्छ

हाल नेपालमा अनौपचारिक क्षेत्र औपचारिक क्षेत्रभन्दा ठुलो बन्दै गएको छ । देशभर साना–ठुला घरहरूमा होटेल वा वासको व्यवस्था सञ्चालन भइरहेको छ, जसले पर्यटन क्षेत्रलाई अव्यवस्थित बनाएको छ । यदि जहाँसुकै पर्यटक बस्न थाले भने उनीहरूको तथ्यांक संकलन गर्न गाह्रो हुन्छ । साथै, सुरक्षा व्यवस्थापन पनि चुनौतीपूर्ण बन्छ । यसले देशको समग्र पर्यटन व्यवस्थापनमा नकारात्मक प्रभाव पार्न सक्छ ।

यसै सन्दर्भमा होटेल संघ नेपालले ‘नो लाइसेन्स, नो होटेल’ भन्ने अवधारणा अघि सारेको छ । अर्थात्, अनुमतिविना होटेल सञ्चालन गर्न नपाइने व्यवस्था कडाइका साथ लागू हुनुपर्छ । सरकारले कहिलेकाहीँ नियमन गर्ने प्रयास गरे पनि त्यो पर्याप्त देखिँदैन । कुनै पनि होटेल दर्ताविना सञ्चालन हुनु भनेको राज्यको कमजोरी हो । त्यसैले नियन्त्रणभन्दा पनि प्रभावकारी नियमन आवश्यक छ ।

पर्यटन उद्योग नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्ने सम्भावना बोकेको क्षेत्र हो, जसका लागि दिगो नीति, पूर्वाधार विकास र प्रभावकारी नियमन अत्यावश्यक देखिन्छ

सरकारी तथ्यांकअनुसार देशमा करिब एक लाख ४२ हजारभन्दा बढी होटेल, रेस्टुरेन्ट र गेस्टहाउस जस्ता आतिथ्य सेवा दिने व्यवसाय सञ्चालनमा छन् । होटेल संघ नेपालसँग आबद्ध प्रतिष्ठित होटेलहरूको संख्या करिब पाँच हजार छ भने देशभर १० हजारभन्दा बढी होटेलहरूले व्यवस्थित रूपमा पर्यटकलाई सेवा दिन सक्ने क्षमता राख्छन् । यस आधारमा हेर्दा नेपालले एक दिनमा करिब १० हजार पर्यटकलाई सहज रूपमा आवास उपलब्ध गराउन सक्छ । वार्षिक रूपमा हेर्दा ३५ देखि ३६ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता नेपालसँग छ । यदि सरकारले निजि क्षेत्रको साथ लिएर स्पष्ट योजना र कार्यान्वयन रणनीति बनाउन सक्यो भने यो क्षमता पूर्ण रूपमा उपयोग गर्न सकिन्छ ।

समग्रमा, पर्यटन उद्योग नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्ने सम्भावना बोकेको क्षेत्र हो । तर, यसको प्रभावकारी उपयोगका लागि स्पष्ट नीति, स्थिरता, पूर्वाधार विकास र सुदृढ नियमन आवश्यक छ । राजनीतिक परिवर्तनसँगै व्यावसायिक वातावरणमा सुधार ल्याउन सकेमा मात्र देशले वास्तविक आर्थिक समृद्धि हासिल गर्न सक्छ । नयाँ सरकारप्रति निजी क्षेत्रको आशा यही हो कि उसले केवल शासन सञ्चालन मात्र होइन, प्रणालीमा सकारात्मक परिवर्तन ल्याएर आर्थिक विकासलाई तीव्रता दिनेछ ।

विनायक शाह, अध्यक्ष, होटेल संघ नेपाल