काठमाडौँ । महिला इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले गूगल र मेरो जबसँगको सहकार्यमा ‘गूगल करियर सर्टिफिकेट स्कलरशिप प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ ।
यो कार्यक्रम सूचना प्रविधि तथा डिजिटल क्षेत्रमा आवश्यक वैश्विक दक्षता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । प्रविधि क्षेत्रमा नयाँ करियर सुरु गर्न चाहने वा आफ्नो व्यावसायिक क्षमता विस्तार गर्न इच्छुक व्यक्तिहरूका लागि यो पूर्ण निःशुल्क अवसर रहेको छ ।
गूगलका विज्ञहरूले तयार पारेको यो कार्यक्रम उद्योगको वास्तविक आवश्यकतामा आधारित पाठ्यक्रममा आधारित छ । अनलाइन माध्यमबाट सञ्चालन हुने भएकाले सहभागीहरूले आफ्नो समयअनुसार अध्ययन गर्न सक्ने सुविधा रहेको छ ।
यस कार्यक्रममार्फत सहभागीहरूले आईटी सपोर्ट, साइबर सेक्युरिटी, पायथनमार्फत आईटी अटोमेसन, डेटा एनालिटिक्स, एड्भान्स डेटा एनालिटिक्स, बिजनेस इन्टेलिजेन्स, युएक्स डिजाइन, डिजिटल मार्केटिङ तथा ई–कमर्स, प्रोजेक्ट म्यानेजमेन्ट, एआई इशेन्सियल्स र प्रम्प्टिङ इशेन्सियल्स जस्ता कोर्सहरू अध्ययन गर्न सक्नेछन् ।
कोर्सको अवधि सामान्यतया ३ देखि ६ महिनासम्म रहनेछ भने सहभागीहरूले डिसेम्बर २०२७ सम्म सामग्रीमा पहुँच पाउने व्यवस्था गरिएको छ ।
यो कार्यक्रमलाई भविष्य–उन्मुख प्रविधि सीप विकासको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ । सीमित सिट मात्र उपलब्ध भएकाले इच्छुकले समयमै आवेदन दिन आग्रह गरिएको छ ।
आवेदनको अन्तिम मिति २० मे २०२६ तोकिएको छ । साथै, इच्छुक व्यक्तिले आफू बाहेक अन्य एक जनालाई पनि यस कार्यक्रममा नामांकनका लागि सिफारिस गर्न सक्ने सुविधा रहेको छ ।
कार्यक्रममा सहभागी हुन चाहनेहरूले आधिकारिक फ्लायरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी थप जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ ।
यस पहलले नेपालमा डिजिटल सीप विकास, रोजगारीका अवसर विस्तार र प्रविधि क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमता बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
