काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। “Life is Precious! Let’s uplift it together” भन्ने सन्देशसहित सञ्चालन हुने कार्यक्रममा सर्वसाधारणलाई स्वास्थ्य परीक्षण गराउन र रक्तदानमार्फत जीवन बचाउने अभियानमा सहभागी हुन आग्रह गरेको छ।
कम्पनीका अनुसार निःशुल्क स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म कमलादीस्थित केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ भने रक्तदान कार्यक्रम वैशाख २१ गते बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म हेरिटेज प्लाजामा आयोजना गरिनेछ। साथै, देशभरका सातै प्रदेशमा पनि सोही दिन एकसाथ रक्तदान कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ।
स्वास्थ्य सचेतना फैलाउने र मानव जीवन बचाउने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैमा आह्वान गरेको छ।