रामेछाप । रामेछापमा स्थानीय पत्रकारिताका चुनौती र सम्भावनाको विषयमा छलफल कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ रामेछापको आयोजनामा मन्थलीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले पत्रकारिता क्षेत्र थप चुनौतीपूर्ण हुँदै गएको बताए । अन्तरष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने नेपालको पत्रकारिता क्षेत्र संकटमा रहेको बताउँदै यसलाई बचाउन स्थानीय तहले सक्दो सहयोग गर्नु बताए । उनले प्रेस स्वतन्त्र हुनु पर्ने बताउँदै प्रेस स्वतन्त्रताको नाममा छाडा हुन नहुने कुरा भने नबिर्सन पत्रकारहरूलाई आग्रह गरे ।
रामेछापको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालका पत्रकारहरुले निक्कै अप्ठेरो मोलेर काम गरिरहेका भन्दै धन्यवाद दिए । उनले सार्वजनिक सेवा प्रदायकले गर्ने काममा पारदर्शीता कायम गरेपछि पत्रकारसँग तर्सनु नपर्ने बताए । समाचार र सूचनाको विषयमा भने सबै संवेदनशील हुनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले स्थानीय पत्रकारितामा प्रेस स्वतन्त्रताको अवस्था र चुनौती विषयक छलफलपत्र प्रस्तुत गरेका थिए । स्थानीय मुद्दा उठाउने स्थानीय सञ्चारमाध्यम संकटमा पर्दा स्थानीयका आवाज ओझेलमा पर्ने उनले बताए ।
लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएका बताउँदै उनले स्वतन्त्र प्रेस बिना लोकतन्त्रको सार्थकता कमजोर हुने स्पष्ट पारे । स्थानीय तहमा प्रेस स्वतन्त्रता कमजोर हुँदा शक्ति सन्तुलन बिग्रने, भ्रष्टाचार बढ्ने र नागरिक अधिकार सीमित हुने खतरा बढ्ने उनको धारणा छ । सरकारले लिएको पछिल्लो सञ्चार नीतिले प्रेस स्वतन्त्रता थप कमजोर हुँदै जाने अवस्था आएको उनले बताए ।
कार्यक्रमका सहभागी पत्रकारहरूले जिल्लामा पत्रकार र सेवा प्रदायका सकारी निकाय, जनप्रतिनिधि लगायतका सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए । स्थानीय सञ्चारमाध्यमलाई बचाउन स्थानीय तहको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुनु पर्नेमा उनीहरूले जोड दिए ।