निजी क्षेत्रको आवाज सशक्त बनाउँदै समृद्धितर्फ

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका सन्दर्भमा नीति ३६५ डटकमका निर्देशक वासुदेव न्यौपानेले वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार नरेशलाल श्रेष्ठसँग लिएको अन्तर्वार्ता ।

 

तपाईं र टिमको चुनावी तयारी कस्तो भई रहेको छ । अहिलेको अवस्था कस्तो देख्नुहुन्छ ?

मेरो चुनावी तयारी अहिले निकै तिव्र गतिमा अघि बढिरहेको छ । हामी वस्तुगत संघका अध्यक्षज्यूहरू तथा महासंघका विभिन्न नेतृत्वसँग निरन्तर भेटघाट गरिरहेका छौं । विभिन्न कार्यक्रममार्फत हाम्रो एजेन्डा र दृष्टिकोण सबैमा पुर्‍याउने काम भइरहेको छ । यस क्रममा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं, जसले हामीलाई अझ उत्साहित बनाएको छ । समग्र वातावरण हेर्दा हामी जित नजिक पुगेको अनुभव भइरहेको छ । हाम्रो टिम पनि बलियो छ । १६ जना उम्मेदवारहरूको टोली अनुभवी, सक्षम र व्यवसायमा समर्पित छन् ।

मेरो व्यक्तिगत रूपमा पनि अघिल्ला दुई कार्यकालमा अत्यधिक बहुमतले जितेको अनुभव छ, जसले मलाई अझ जिम्मेवार बनाएको छ । वस्तुगत संघहरूसँग मेरो सम्बन्ध राम्रो छ, र म सबैसँग मिलेर काम गर्ने स्वभावको भएकाले धेरै साथीहरूले साथ दिइरहनुभएको छ । यसपटक पनि हामी “टिमलाई जिताउने” सोचका साथ अघि बढिरहेका छौं, व्यक्तिगत होइन सामूहिक नेतृत्वलाई प्राथमिकता दिएका छौं ।

निजी क्षेत्र र सरकारबीचको सम्बन्धबारे तपाईंको धारणा के छ ? अहिले के सुधार आवश्यक छ ?

निजी क्षेत्र र सरकारबीचको सम्बन्ध अझ स्पष्ट, विश्वासिलो र सहकार्यमा आधारित हुनुपर्छ भन्ने मेरो धारणा छ । अहिले केही अवस्थामा निजी क्षेत्रले असुरक्षा महसुस गरेको देखिन्छ । विशेषगरी व्यवसायीहरूलाई अनुसन्धान नै नगरी कारबाही गर्ने प्रवृत्तिले मनोबल घटाएको छ ।

मेरो विचारमा, कसैले गल्ती गरेको शंका भएमा पहिले राम्रोसँग अनुसन्धान हुनुपर्छ । दोषी प्रमाणित भएपछि मात्र कारबाही गरिनुपर्छ । यदि बिना प्रमाण तुरुन्तै पक्राउ गर्ने काम गरियो भने निर्दोष व्यक्तिको छवि बिग्रिन्छ, जुन दीर्घकालीन रूपमा देशकै लागि हानिकारक हुन्छ ।

सरकारसँग हाम्रो ठूलो अपेक्षा छ । अहिलेको सरकार शिक्षित, युवा र ऊर्जाशील छ, जसले राम्रो काम गर्न सक्छ भन्ने विश्वास छ । तर निजी क्षेत्रलाई एकपटक बोलाएर स्पष्ट रूपमा रोडम्याप दिनुपर्छ । “निर्भीक भएर लगानी गर्नुहोस्, व्यवसाय गर्नुहोस्, हामी तपाईंहरूको साथमा छौं” भन्ने सन्देश दिनु अत्यन्त आवश्यक छ । यसले निजी क्षेत्रको मनोबल बढाउँछ ।

आगामी बजेट र आर्थिक नीतिमा के–कस्ता सुधार आवश्यक देख्नुहुन्छ ?

आगामी बजेट आर्थिक क्रान्ति ल्याउने खालको हुनुपर्छ । हामीले साधारण खर्च घटाएर विकास बजेटमा प्राथमिकता दिनुपर्छ । जनताले तिरेको कर शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्ता क्षेत्रमा प्रभावकारी रूपमा खर्च हुनुपर्छ ।

फजुल खर्च हुने निकायहरू घटाउनुपर्छ र आवश्यक ठाउँमा मात्र स्रोत केन्द्रित गर्नुपर्छ । कर्मचारी व्यवस्थापन पनि सन्तुलित हुनुपर्छ – जहाँ काम बढी हुन्छ त्यहाँ स्रोत बढाउने र अनावश्यक ठाउँमा घटाउने नीति अपनाउनु आवश्यक छ ।

निर्यात प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्छ । अहिले निर्यातका लागि पर्याप्त बजेट र संरचना छैन । सडक, विमानस्थल, औद्योगिक क्षेत्र जस्ता पूर्वाधार सुधार गर्नुपर्छ । काठमाडौं विमानस्थलको विस्तार, औद्योगिक क्षेत्रहरूको आधुनिकीकरण, र नयाँ लगानीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता छ ।

व्यापारीहरूले सहज रूपमा लगानी गर्न सक्ने वातावरण बनाउनु जरुरी छ । यसले मात्र रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक समृद्धि सम्भव हुन्छ ।

उद्योग वाणिज्य महासंघको संरचना र कार्यशैलीमा तपाईंले के परिवर्तन गर्न चाहनुहुन्छ ?

महासंघभित्र शक्ति केन्द्रीकृत भएको अवस्था देखिन्छ, जसलाई सन्तुलित बनाउन आवश्यक छ । जिल्ला, नगर, वस्तुगत र एसोसिएट क्षेत्रका उपाध्यक्षहरूलाई उनीहरूको क्षेत्रको समस्या समाधान गर्ने अधिकार दिनुपर्छ । यसले निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउँछ ।

वस्तुगत परिषदलाई अझ सक्रिय बनाउनुपर्छ । मेरो योजना अनुसार प्रत्येक ६ महिनामा वस्तुगत संघहरूको भेला आयोजना गरिनेछ, जहाँ उनीहरूको समस्या सुन्ने र समाधानका लागि पहल गरिनेछ ।

सबै समस्या एकैपटक उठाउनु भन्दा प्राथमिकता निर्धारण गरेर केही महत्वपूर्ण मुद्दा उठाउनु राम्रो हुन्छ । यदि ती मागहरू जायज छन् भने महासंघले त्यसलाई सम्बन्धित निकायसम्म पुर्‍याएर समाधान गर्न प्रतिबद्ध हुनुपर्छ ।

महासंघलाई निजी क्षेत्रको सशक्त आवाज बनाउनु मेरो प्रमुख लक्ष्य हो, जसले सरकारसँग प्रभावकारी संवाद गर्न सकोस् ।

तपाईंको दीर्घकालीन आर्थिक दृष्टिकोण के हो ? देशको समृद्धिका लागि के योजना छन् ?

मेरो मुख्य लक्ष्य अर्थतन्त्रलाई बलियो बनाउनु र निजी क्षेत्रलाई एकीकृत गर्नु हो । हामीले निर्यात बढाउने, आयात घटाउने, र उत्पादनमुखी उद्योगहरू विस्तार गर्ने नीति अपनाउनुपर्छ । विदेशी लगानी आकर्षित गर्न स्थिर र विश्वसनीय वातावरण आवश्यक छ ।

ऊर्जा क्षेत्रमा नेपालसँग ठूलो सम्भावना छ । उत्पादन बढाएर छिमेकी देशहरूमा स्थायी रूपमा निर्यात गर्न सकिन्छ । पर्यटन क्षेत्रमा पनि १० लाखबाट २० लाख पर्यटक पुर्‍याउने लक्ष्य राख्नुपर्छ ।

विदेश पलायन भएका नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिने, र यहाँ नै अवसर सिर्जना गर्ने हाम्रो प्राथमिकता हुनुपर्छ । साथै, उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति घटाउन देशभित्रै गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्छ ।

मतदातालाई के भन्न चाहनुहुन्छ ?

म सबै साथीहरू र शुभेच्छुकहरूलाई आग्रह गर्न चाहन्छु । मलाई अवसर दिनुहोस् । तपाईंहरूको विश्वासलाई म खेर जान दिनेछैन । काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईंहरूको मतको कदर गर्दै, जिम्मेवारीपूर्वक नेतृत्व गर्नेछु ।