सञ्चारकर्मीलाई कुनै अवरोध नगरेको प्रधानमन्त्री सतिवालयको दाबी

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडिओ र फोटो खिच्न कुनै अवरोध नगरिएको जनाएको छ।

सोमबार प्रधानमन्त्री कार्यालय बाहिर भिडिओ खिचिरहेका सञ्चारकर्मीलाई प्रधानमन्त्री बालेन्द्र साहले रोक्न निर्देशन दिएको भनेर आएका समाचारप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्रीको सचिवालयले प्रष्टिकरण दिएको हो।

प्रधानमन्त्रीको सचिवालयकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले गएराति प्रेस नोट जारी गर्दै प्रधानमन्त्री शाहले आफ्नो कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरेको भनी केही सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।

उनले सोमबार कार्यालय प्रवेश गर्ने क्रममा कार्यालय परिसरमा सवारी साधनहरूको अत्यधिक भीडभाड देखिएपछि शाहले त्यसको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राखेको जनाएकी छन्।

‘उहाँको यो चासो परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित थियो,’ प्रेस नोटमा भनिएको छ,
‘प्रधानमन्त्रीज्यूले सञ्चारकर्मीहरूलाई कार्यक्षेत्रबाट हटाउन वा आफ्नो भिडियो खिच्न रोक्न कुनै पनि किसिमको निर्देशन दिनुभएको होइन।’

प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरिसकेपछि उनको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीहरूलाई त्यहाँबाट हट्न भनेको भन्ने गुनासो सचिवालयमा प्राप्त भएको भन्दै दाहालले उक्त जानकारी प्राप्त हुनासाथ सचिवालयले सम्बन्धित निकायसँग समन्वय गरी फिल्डमा रहेका सञ्चारकर्मीलाई प्रधानमन्त्री कार्यालय परिसरमा उपलब्ध गराइएको पहुँचमा कुनै पनि प्रकारको कटौती वा निषेध नगरिएको जानकारी गराइसकेको बताएकी छन्।

‘जहाँ सञ्चारकर्मीहरूलाई सूचना संकलन र रिपोर्टिङका लागि अनुमति छ, त्यहाँ कुनै पनि किसिमको अवरोध भएको छैन र भविष्यमा पनि हुने छैन,’ प्रेस नोटमा भनिएको छ, ‘तसर्थ, सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अंकुश वा अवरोधका रूपमा अतिरञ्जित नगर्न हामी हार्दिक अनुरोध गर्दछौँ।’

नेपाल सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै उनले सञ्चार जगतसँग सहकार्य, पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन सरकार सदैव क्रियाशील रहने प्रतिवद्धता पनि व्यक्त गरेकी छन्।