काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक यती एयरलाइन्स लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ निष्काशनका लागि प्रक्रिया अघि बढाउँदै महत्वपूर्ण सम्झौता सम्पन्न गरेको छ।
कम्पनीले आफ्नो साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न एनआइएमबि एस क्यापिटल लिमिटेड लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो।
धितोपत्र निष्काशन सम्बन्धी द्विपक्षीय सम्झौतामा यती एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र एनआइएमबि एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
यो सम्झौतासँगै यती एयरलाइन्स पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुँदै सर्वसाधारणमा शेयर निष्काशन गर्ने बाटो खुलेको छ।
आन्तरिक हवाई सेवामा लामो अनुभव सँगालेको यती एयरलाइन्स नेपालका प्रमुख निजी हवाई सेवा प्रदायकहरूमध्ये एक हो। कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्दै देशका प्रमुख सहरदेखि दुर्गम गन्तव्यसम्म नियमित उडान सञ्चालन गर्दै आएको छ।
नेपालको हवाई पहुँच विस्तार र क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको कम्पनीले आईपीओबाट संकलित पूँजीलाई सेवा विस्तार, आधुनिकीकरण र संस्थागत सुदृढीकरणमा उपयोग गर्ने लक्ष्य राखेको छ।
यससँगै यती एयरलाइन्सले आफ्नो व्यवसायिक विस्तार र दीर्घकालीन विकास रणनीतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
