प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्धको उजुरी आगामी मंगलबार खोल्ने तयारी

प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्धको उजुरी आगामी मंगलबार खोल्ने तयारी भएको छ ।

संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार शनिबार साँझसम्म ७ वटा उजुरी परेका छन् । सोमबार कार्यलय समयसम्म उजुरी दिन सकिने संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार मंगलबार समितिको बैठक राखेर उजुरी खोल्ने तयारी छ । त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण हुनेछ ।

समिति सचिवालयका अनुसार उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिनेछ । सिधै सचिवालयमा पुगेर पत्रमार्फत पनि उजुरी दिन सकिन्छ ।

सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिन्छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ । इमेलबाट पनि उजुरी दिन सकिन्छ ।

उजुरी दिँदा विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश भएका शर्मालाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

 

अनलाइनखबरबाट साभार