काठमाडौं, माइतीघर मण्डला — ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिका का स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेका छन्।
स्थानीय कृषक, व्यापारी, युवा तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सडकको दयनीय अवस्थाका कारण जनजीवनमा परेको प्रत्यक्ष असरबारे आवाज उठाइएको थियो। सहभागीहरूले सडकको बिग्रँदो अवस्थाले कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा यातायात क्षेत्र गम्भीर रूपमा प्रभावित भएको बताएका थिए।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन का तर्फबाट नुवाकोट जिल्ला अध्यक्ष बालकृष्ण ढुंगाना, कृषक तथा व्यापारीहरूको तर्फबाट प्रकाश मुडभरी तथा विद्यार्थीहरूको तर्फबाट बसन्त गुरुङ को सहभागिता रहेको थियो।
कार्यक्रमको सम्पूर्ण संयोजन युवा समाजसेवी तथा कृषिक्षेत्रमा सक्रिय व्यक्तित्व अमृत पुडासैनी ले गरेका थिए। पछिल्लो समय ग्रामीण विकास, कृषि उत्पादन तथा स्थानीय बजार व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएका पुडासैनीलाई क्षेत्रीय स्तरमा उदाउँदो युवा नेतृत्वका रूपमा हेरिन थालिएको छ। विशेष गरी डेरी तथा दुग्ध क्षेत्रको बजार व्यवस्थापन, कृषकका उत्पादनको बजारीकरण तथा युवाहरूलाई कृषि पेशातर्फ आकर्षित गराउने अभियानमा उनको सक्रियता उल्लेखनीय मानिन्छ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल डेरी एसोसिएसन नुवाकोट जिल्ला अध्यक्ष बालकृष्ण ढुङ्गानाले तीनपिप्ले–गल्छी सडक केवल पूर्वाधारको विषय मात्र नभई हजारौँ नागरिकको भविष्य र जीवनस्तरसँग जोडिएको विषय भएको बताएका थिए। उनले सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीय किसान, विद्यार्थी, बिरामी तथा व्यापारीहरूले दैनिक रूपमा कठिनाइ भोग्नुपरेको उल्लेख गरे।
“किसानले उत्पादन गरेको तरकारी, दूध तथा अन्य कृषि उपज समयमै बजारसम्म पुर्याउन सकिरहेका छैनन्। यातायातको अभाव र सडकको खराब अवस्थाले उत्पादनको उचित मूल्यसमेत पाउन कठिन भएको छ,” उनले भने। “यदि यो सडक व्यवस्थित रूपमा निर्माण हुने हो भने यस क्षेत्रको कृषि, पर्यटन, व्यापार र समग्र आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउनेछ।”
धर्ना कार्यक्रममा सहभागीहरूले “कृषक, युवा, व्यापारी — एउटै स्वर, सडक बनाउ विकासको ढोका खोल”, “किसानको पसिनाको सम्मान गर, तीनपिप्ले–गल्छी सडक छिटो निर्माण गर”, “अहिले नभए कहिले ?”, “आश्वासन त पाएकै थियौं पहिले जस्तै”, “सडक हाम्रो अधिकार हो” तथा “तीनपिप्ले–गल्छी सडक तत्काल कालोपत्रे गर” लगायतका नाराहरू लगाउँदै सडक निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका थिए।
स्थानीयवासीहरूका अनुसार तीनपिप्ले–गल्छी सडक नुवाकोटका ककनी तथा बेलकोटगढी क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण मार्ग हो। तर वर्षौँदेखि सडक स्तरोन्नति कार्य सुस्त हुँदा स्थानीय जनताले हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्या झेल्दै आएका छन्। कतिपय स्थानमा सडक जोखिमपूर्ण बन्दै जाँदा दुर्घटनाको सम्भावना समेत बढेको स्थानीयहरूको भनाइ छ।
विशेषगरी कृषिप्रधान क्षेत्रका रूपमा परिचित ककनी तथा बेलकोटगढीमा उत्पादन हुने तरकारी, दूध तथा अन्य कृषि उपज बजारसम्म पुर्याउन सडक मुख्य आधार भए पनि कमजोर पूर्वाधारका कारण किसानहरू प्रत्यक्ष मारमा परेका छन्। स्थानीय व्यापारीहरूले पनि ढुवानी लागत बढेको तथा व्यवसाय विस्तारमा समस्या भएको बताएका छन्।
कार्यक्रमका आयोजकहरूले सरकार तथा सम्बन्धित निकायलाई तीनपिप्ले–गल्छी सडक निर्माण कार्यलाई प्राथमिकतामा राखी तत्काल प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्। साथै, जनताको धैर्यको परीक्षा धेरै भइसकेकाले अब व्यवहारिक रूपमा काम सुरु हुनुपर्ने उनीहरूको माग रहेको छ।
आन्दोलन समितिले आगामी दिनमा पनि जनताको आवाजलाई शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट निरन्तर उठाइरहने जनाएको छ।