आज मे ३१-विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवसमा यसपालि ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाउँ’ भन्ने नारा तय गरिएको छ ।

चुरोट, सुर्ती, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खाँदा क्यान्सर लगायतका स्वास्थ्य समस्या निम्त्याउने डाक्टरहरु बताउँछन । क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धूमपान नगर्न तथा सुर्तीजन्य बस्तु नखान डाक्टरको सुझाव छ । नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेर सदस्य देश बनिसकेको छ ।

पछिल्लो समय सार्वजनिक ठाउँमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान भए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन भने हुन सकेको छैन ।

हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ ।

युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या भन्दा धेरै हुन सक्दैन ।

स्मरण रहोस्, संसारभरिका धेरै जसो ठुला–ठुला सुर्तीजन्य व्यवसायहरू औँलामा गन्न सकिने केही मात्र उद्योगपतिहरूको नियन्त्रणमा छ ।

हरेक वर्ष विश्वभरिमा सुर्तीजन्य पदार्थको खेती गरिएका ३५ लाख हेक्टर खेतहरू विनाश गरिन्छ । सुर्तीजन्य पदार्थको खेतीका कारणले धेरै वन विनाश भएको र वातावरण बिग्रेको रेकर्ड पनि छ ।