काठमाडौँ । कार्यस्थललाई अझ समावेशी, सुरक्षित र कर्मचारीमैत्री बनाउने उद्देश्यसहित नबिल बैंकले मातृत्वको जिम्मेवारी सम्हाल्दै पेशागत यात्रामा सक्रिय रहेका महिला कर्मचारीका लागि नयाँ सुविधा सुरु गरेको छ। बैंकले तीनधारास्थित आफ्नो केन्द्रीय कार्यालयमा ‘नबिल नर्सिङ रुम’ (स्तनपान कक्ष) स्थापना गर्दै कामकाजी आमाहरूका लागि सहज, मर्यादित र सुरक्षित वातावरण उपलब्ध गराउने पहल थालेको हो।
बैंकका अनुसार स्तनपान कक्ष केवल कर्मचारी आमाहरूका लागि मात्र नभई बैंकमा सेवा लिन आउने सर्वसाधारण आमाहरूले पनि प्रयोग गर्न सक्ने गरी सञ्चालनमा ल्याइएको छ। यसले शिशुसहित बैंक आउने सेवाग्राही महिलाहरूलाई समेत सुविधा प्रदान गर्ने विश्वास गरिएको छ।
सुत्केरी बिदा सकिएपछि पुनः कार्यक्षेत्रमा फर्किने महिलाहरूले सामना गर्ने व्यावहारिक चुनौतीलाई ध्यानमा राखेर यो सुविधा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। विशेषगरी स्तनपान गराइरहेका आमाहरूलाई कार्यालय समयमा दूध सञ्चय गर्न वा शिशुलाई स्तनपान गराउन उपयुक्त र निजी स्थानको आवश्यकता हुने भएकाले यस्तो व्यवस्था गरिएको हो।

कर्मचारी आमाहरूको सकारात्मक अनुभव
विगत एक दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत नबिल बैंककी कर्मचारी अञ्जु जिसीले सुत्केरी बिदापछि कार्यालय फर्कँदाका प्रारम्भिक दिनहरू निकै चुनौतीपूर्ण रहेको अनुभव सुनाइन्। नौ महिनाकी छोरीकी आमा जिसीका अनुसार कार्यालय समयमा दूध सङ्कलन गर्न उपयुक्त र गोप्य स्थानको अभाव हुँदा शारीरिक तथा मानसिक असहजता झेल्नुपरेको थियो।
उनले स्तनपान गराउने आमाहरूका लागि समयमै दूध व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यमा समेत असर पर्न सक्ने उल्लेख गर्दै यस्तो सुविधा महिलाको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताइन्। उनका अनुसार नर्सिङ रुमको स्थापनाले आफूजस्ता नयाँ आमाहरूलाई ठूलो राहत मिलेको छ।
नबिल बैंककी अर्की कर्मचारी बिनिसा श्रेष्ठले पनि सुत्केरी बिदा समाप्त भएर काममा फर्किने बेला निकै चिन्ता लागेको अनुभव साझा गरिन्। उनले कार्यालय फर्किएपछि छोटो विश्राम समयमा घर जाने–आउने प्रयास व्यावहारिक रूपमा कठिन भएको बताइन्।
श्रेष्ठका अनुसार यसअघि उपयुक्त स्थानको अभावमा शौचालयमा बसेर दूध पम्प गर्नुपर्ने अवस्था थियो, जसले स्वच्छता र सहजताको दृष्टिले समस्या सिर्जना गर्थ्यो। अहिले भने नर्सिङ रुममा गोपनीयता, स्वच्छता र आरामदायी वातावरण उपलब्ध भएकाले काम र मातृत्वबीच सन्तुलन कायम गर्न सहज भएको उनले बताइन्।

आमा र शिशुको आवश्यकतालाई केन्द्रमा राखिएको सुविधा
बैंकले स्थापना गरेको नर्सिङ रुममा आमा र शिशु दुवैको आवश्यकतालाई ध्यानमा राखिएको छ। कक्षभित्र बेबी कट (सानो ओछ्यान), सफा खानेपानी, सेनिटाइजर, टिस्यु, वाइप्स तथा बालबालिकाका लागि खेलौनासमेत व्यवस्थित रूपमा राखिएको छ।
यसले स्तनपान गराउने आमाहरूलाई सुरक्षित र सहज वातावरण प्रदान गर्नुका साथै शिशुको हेरचाहलाई पनि थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

शाखा विस्तारसँगै थप सुविधा ल्याउने तयारी
नबिल बैंकले यो सुविधा पहिलो चरणमा केन्द्रीय कार्यालयबाट सुरु गरेको जनाएको छ। आगामी दिनमा देशभर रहेका प्रमुख शाखाहरूमा समेत नर्सिङ रुम विस्तार गर्ने योजना बैंकको छ।
त्यससँगै कर्मचारीका सन्तानको हेरचाहका लागि ‘चाइल्ड केयर सेन्टर’ (डे–केयर) स्थापना गर्ने तयारी पनि बैंकले अघि बढाएको छ। यस्तो सुविधा सञ्चालनमा आएपछि कर्मचारीहरूले कार्यालय समयमा आफ्ना बालबालिकाको सुरक्षाप्रति ढुक्क हुँदै पेशागत जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वास गरिएको छ।
कार्यस्थलमा लैङ्गिक समानता, कर्मचारी कल्याण र मातृत्वमैत्री वातावरण प्रवर्द्धन गर्ने दिशामा नबिल बैंकको यो कदमलाई कर्पोरेट क्षेत्रका लागि उदाहरणीय पहलका रूपमा हेरिएको छ। यसले महिला कर्मचारीलाई करियर र पारिवारिक जिम्मेवारीबीच सन्तुलन कायम गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

