गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे । ‘उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन ।
मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण भएको छ । यसको म खेद व्यक्त गर्दछु,’ उनले भने ।
गृहमन्त्री लेखकले बोल्दैगर्दा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी को अवरोधकैबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ ।
रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।
सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।
पाण्डेले बोल्दैगर्दा रास्वपा र राप्रपाका नेताहरूले टेबुल ठोकेर विरोध गरे । यद्यपि पाण्डेले आफ्ना कुरा राखिरहे ।
लगत्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समय दिइयो । लिङ्देन बोल्दा भने रास्वपाले अवरोध गरेन ।