काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभाको संघारमा संस्थाभित्रको आन्तरिक विवाद सतहमा आएको छ । इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले अध्यक्ष गणेश कार्कीद्वारा यसअघि जारी प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै साधारणसभाको म्यान्डेट र संस्थाको विधान मिचेर निर्वाचन गर्न लागिएको आरोप लगाएका छन् ।
आगामी जेठ २९ गतेका लागि तय भएको साधारणसभामा संस्थालाई महासंघमा रूपान्तरण गर्ने पूर्वनिर्णय कार्यान्वयन नभएको भन्दै दुलालले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
उपमहासचिव दुलालका अनुसार, २०८० साल जेठ ३२ गते सम्पन्न २१औं साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो । उक्त समितिले तयार पारेको प्रतिवेदनलाई २०८२ साल असार ३१ गतेको २३औं साधारणसभाले सर्वसम्मतिले पारित गर्दै संस्थालाई ६ महिनाभित्र महासंघको ढाँचामा लैजाने निर्णय गरेको थियो ।
साधारणसभाको उक्त ऐतिहासिक निर्णयलाई कार्यान्वयन गर्ने अख्तियारी अध्यक्ष गणेश कार्कीलाई दिइएको भए पनि हाल कार्यसमितिको बहुमतको नाममा उक्त निर्णयलाई लत्याउँदै सीधै निर्वाचनको मिति घोषणा गरिएको दुलालको दाबी छ ।
अध्यक्ष कार्कीले जेठ २५ गते जारी गरेको प्रेस विज्ञप्तिमा २३औं साधारणसभाले पारित गरेको विधान कार्यान्वयन गर्न नसकिने भनी २०८३ वैशाख ४ गतेको कार्यसमिति बैठकले निर्णय गरेको उल्लेख छ । यसै विषयलाई लिएर उपमहासचिव दुलालले आपत्ति जनाउँदै साधारणसभाको सर्वोच्च अधिकारलाई कार्यसमितिको बैठकले काट्न नमिल्ने तर्क गरेका छन् । उनका अनुसार साधारणसभाले गरेको निर्णयलाई कार्यान्वयन गर्नु नेतृत्वको नैतिक र कानुनी दायित्व हो । साधारणसभाको निर्णयलाई उपेक्षा गरेर गरिने कुनै पनि कार्य वैधानिक नहुने र यसले संस्थाको मर्यादामा आँच पुरÞ्याउने उनको भनाइ छ ।
विवादको अर्को मुख्य कडी विधान संशोधन र नेतृत्व चयनको प्रक्रियासँग जोडिएको छ । इप्पानको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । तर, हालै बसेको कार्यसमितिको २०३औं बैठकले उक्त व्यवस्था खारेज गरी अध्यक्ष पदका लागि पनि खुल्ला प्रतिस्पर्धा गराउने प्रस्ताव २४औं साधारणसभामा लैजाने निर्णय गरेको छ ।
उपमहासचिव दुलालले भने २३औं साधारणसभाले अनुमोदन गरिसकेको महासंघको ढाँचालाई सम्बोधन नगरी निर्वाचनमा जानु अवैधानिक हुने जिकिर गरेका छन् । उनले संस्थालाई बढी सहभागितामूलक र मर्यादित बनाउन महासंघमा रूपान्तरण गर्नु अनिवार्य रहेको उल्लेख गरेका छन् ।
यसअघि अध्यक्ष कार्कीले जारी गरेको प्रेस विज्ञप्तीमा उपमहासचिव दुलालले विधान गायब भएको भनी अनर्गल प्रचार गरेको भन्दै भत्र्सना गरिएको थियो । त्यसको प्रतिवाद गर्दै दुलालले विधान सचिवालयमा सुरक्षित रहेको स्वीकार गरिनु तर कार्यान्वयन नगरिनुले नेतृत्वको नियत प्रष्ट भएको बताएका छन् ।
उनले सुरुमा विधान पारित नै नभएको तर्क गर्ने पक्षले अहिले विधान सुरक्षित छ भन्नु विरोधाभाषपूर्ण रहेको टिप्पणी गरेका छन् । साधारणसभाको म्यान्डेट अनुसार विधान संशोधन गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउनु पर्नेमा नेतृत्वले एकलौटी ढंगले अघि बढ्न खोजेको उनको आरोप छ ।
ऊर्जा उद्यमीहरूको साझा संस्था इप्पानमा देखिएको यो विवादले ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश जाने भन्दै दुलालले संस्थागत सुशासन कायम गर्न जोड दिएका छन् । उनले साधारणसभाको निर्णय कार्यान्वयनका लागि आवाज उठाउनु सबै सदस्यको दायित्व भएको उल्लेख गर्दै संस्थाको उचाइ जोगाउन विधि र विधानको पालना हुनुपर्ने माग गरेका छन् । यस विवादले आगामी जेठ २९ गते हुने २४औं वार्षिक साधारणसभालाई कसरी प्रभावित पार्छ भन्ने कुरा ऊर्जा क्षेत्रमा चासोको विषय बनेको छ ।