जनकपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेश प्रदेशका आठवटै जिल्लामा कार्यरत्त प्रहरीहरुलाई सेवा सुविधा उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय एक दिवसीय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री महतोले प्रदेश सरकारले ल्याउन लागेको बजेटमा मधेश प्रदेशका आठवटै जिल्लामा रहेको सम्पूर्ण प्रहरी चौकी, इलाका लगायतको स्तोरन्नती, संरचना निर्माणका साथै सेवा, सुविधा थप गरिएको जानकारी दिए ।
उनले आफूले विगतमा गरेको विभिन्न जिल्लाहरुको निरीक्षणको क्रममा प्रहरी चौकी, कारागार, प्रहरीहरु बस्ने स्थानहरुको अवस्था दयनीय रहेको देखिएको बताए ।
उनले सुरक्षालाई मधेश प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै, अब आउन लागेको बजेटले आठवटै जिल्लाका मुख्य प्रहरी र इलाका चौकी तथा कारागारहरुको स्तरोन्नती गर्नका निम्ति बजेट छुट्टयाइएको जानकारी बताए ।
गृहमन्त्री महतोले फोरेन्सिक र डिजिटल प्रविधीको सहज उपलब्धतालाई मध्यनजर गर्दै प्रदेश सरकारले त्यसका लागि पनि बजेटमा व्यवस्था गर्न लागेको उल्लेख गरे । उनले सीसीटिभी क्यामेरा जडान, सवारी साधन खरीद, बहुवर्षीय योजनामा थप अनुदानलगायतका शिर्षकमा प्रहरीहरुकै निम्ति नौं करोड रुपैयाँ बजेटमा राखेको जानकारी दिए ।
मधेश प्रदेश सरकारले हाल पाँच तले ब्यारेक निर्माणका निम्ति ११ करोडको काम अगाडि बढाइसकेको गृहमन्त्री महतोको भनाइ छ । गृहमन्त्री महतोले आठवटै जिल्लामा रहेको अदालतहरुको स्तरोन्नती तथा सेवा सुविधा थप गर्नका निम्ति पनि बजेटमा विशेष व्यवस्था गरेको जानकारी दिए ।
उनले अपराध अनुसन्धान कुनै सामान्य प्रशासनिक कार्य नभई न्याय स्थापनाको पहिलो खुडकिलो रहेको बताउँदै अनुसन्धान सुदृढ भए मात्र न्याय सुलभ हुने बताए । न्याय सुलभ भए मात्र समाज विकासतर्फ जाने गृहमन्त्री महतोको भनाई थियो ।