विश्वकप फुटबल समुह बीको पहिलो खेल कतारलाई पछि पार्दै स्विट्जरल्यान्डलाई अग्रता

फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत कतार र स्विट्जरल्यान्डबीच जारी प्रतिस्पर्धाको पहिलो हाफ सकिएको छ ।

चार वर्षअघि आयोजकका रूपमा विश्वकपमा डेब्यु गर्दाको तुलनामा यस पटक कतार आफ्नो प्रदर्शनमा सुधार गर्ने दाउमा छ । सन् २०२२ को विश्वकप कतारका लागि बिर्सनलायक बनेको थियो, जहाँ उसले समूह चरणका तीन वटै खेल हारेको थियो । ७ गोल खाँदा मात्र १ गोल गर्न सकेको कतार दुई खेलपछि नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

विश्वकप फुटबल अन्तर्गत जारी खेलको १७ औँ मिनेटमा ब्रेएल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई १-० को अग्रता दिलाएका छन् ।

ब्रेएल एम्बोलोले मिलाइदिएको हेडर पासमा अघि बढिरहेका रेमो फ्रुलेरलाई कतारी गोलकिपर महमुद अबुनादाले डि–बक्सभित्र लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीलाई सदुपयोग गर्दै एम्बोलोले कतारलाई पछि पार्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।