काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । नेपाल आयल निगमले सोमबार (आउन १८) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमका अनुसार, पेट्रोल प्रतिलिटर तीन रुपैयाँ, डिजेल/मट्टीतेल लिटरमा पाँच रुपैयाँ बढाइएको छ । हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्यवृद्धि गरिएको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढाइएको निगमले जनाएको छ ।
एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ ।
निगमका अनुसार, मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।