हालै नेपाल टेलिकमले आफ्ना खरिद प्रक्रिया, मिटिङ र वर्कफ्लो व्यवस्थापन जस्ता आन्तरिक प्रणालीहरू आफ्नै सफ्टवेयर युनिट र एआई आधारित ‘भाइब कोडिङ’ मार्फत निर्माण गरिरहेको खबर बाहिरिएको छ। सुन्दा यो अभ्यास अत्याधुनिक र किफायती लागे पनि सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघ र प्रविधि उद्योगका विज्ञहरूले यसमाथि गम्भीर प्राविधिक कैफियत औंल्याएका छन्।
१. विश्वव्यापी अभ्यास (Global Practice) विपरीतको कदम
प्रविधि जगतमा सफ्टवेयरको पारदर्शिता सुनिश्चित गर्न ‘मेकर एन्ड चेकर’ (Maker and Checker) को सिद्धान्त अनिवार्य मानिन्छ। तर, टेलिकम आफैँले सफ्टवेयर बनाउने र आफैँले जाँच गर्ने परिपाटीले प्राविधिक त्रुटिहरू लुक्ने र सुशासन कमजोर हुने विज्ञहरूको दाबी छ।
२. भाइब कोडिङ र साइबर सुरक्षाको गम्भीर जोखिम
सफ्टवेयर निर्माणमा एआई टुल्सलाई निर्देशन दिएर कोड निकाल्ने ‘भाइब कोडिङ’ साना प्रोजेक्टका लागि उपयुक्त भए पनि टेलिकम जस्तो संवेदनशील पूर्वाधारमा आत्मघाती हुन सक्छ। उचित ‘कोड रिभ्यु’ र सुरक्षा परीक्षण बिना एआई जेनेरेटेड कोड प्रयोग गर्दा बलियो लग म्यानेजमेन्ट (Log Management) छुट्ने र भविष्यमा ठूलो डेटा चुहावट (Data Leakage) को खतरा रहने देखिन्छ।
३. लगानी धेरै, कार्यकुशलता कम (Invest More, Less Efficient)
सरकारी क्षेत्रमा दक्ष प्रविधिक जनशक्तिको अभाव (Lack of skilled manpower) कायमै छ। अर्कोतर्फ, कुनै स्थापित सफ्टवेयर भेन्डरबाट सेवा लिनुको साटो केवल टेलिकमका आफ्ना प्रयोगकर्ताका लागि मात्र सिमित रहने गरी इन-हाउस सफ्टवेयर बनाउँदा सफ्टवेयर लागत (Software cost) झन् बढेर जान्छ। यसले ‘Economy of Scale’ को नियमलाई तोड्दै संस्थालाई थप अनुत्पादक बनाउने जोखिम रहन्छ।
क्यान महासंघको ठहर
क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरन्जिबी अधिकारीका अनुसार, “स्थानीय प्रविधि उद्योग र दक्ष निजी क्षेत्रलाई उपेक्षा गरेर राज्य आफैँ सफ्टवेयर उत्पादक बन्न खोज्नु न्यायसंगत छैन। डिजिटल नेपालको सपना साकार पार्न सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ, प्रतिस्पर्धा होइन।”
नेपाल टेलिकमले आफ्ना आन्तरिक प्रणालीहरूलाई सुरक्षित र पारदर्शी बनाउन तत्काल विशेषज्ञ सफ्टवेयर कम्पनीहरूसँग सहकार्य गर्नुपर्ने र निर्माण भइसकेका प्रणालीहरूको कडा साइबर सुरक्षा अडिट गराउनुपर्ने प्रविधि विज्ञहरूको सुझाव छ।
