मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नु एमालेकै कमजोरी रहेको झलनाथको दाबी

नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी एमाले अर्थात आफूहरूभित्रै रहेको स्वीकार गरेका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् ।

‘मदन भण्डारी र उहाँको बारेमा चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या अत्यन्तै रहस्यमयी ढंगले भयो । यी हत्याराहरू कसले हत्या गरेका थिए रु,’ खनालले भने, ‘ती कुराहरूलाई आजसम्म पनि पत्ता लगाउन नसक्ने कमजोरी एमाले अर्थानत हामीभित्रै छ ।’

मदन भण्डारीको हत्याको षड्यन्त्र नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्रस्वरुप भएको उनको भनाइ थियो ।

‘उहाँमाथि जुन हत्याको षड्यन्त्र रचियो, नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र हो । यो सिंगो कम्युनिस्ट आन्दोलनमाथि षड्यन्त्र जारी छ,’ उनले भने ।

आफूहरू मार्क्सवाद, लेनिनवादलाई नेपाली क्रान्तिको विशेषता र विशिष्टतामा लागू गर्न क्रियाशील रहेको उनले बताए ।