पेनाल्टी सुटआउटमा जर्मनी स्तम्भपाराग्वे अन्तिम १६ मा

फिफा विश्वकप-२०२६ मा सडन डेथमा जर्मनीलाई हराउँदै पाराग्वेले जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

आज मंगलबार बिहान बोस्टन स्टेडिममा भएको खेलमा पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी भएको हो।

पहिलोपटक युरोपियन टोलीलाई नकआउटमा हराएर पाराग्वेले इतिहास रचेको हो। उता चारपटकको विश्वविजेता जर्मनीको यात्रा भने सुरुवाती ३२ बाटै टुंगिएको छ।

जोनाथन ताह छैटौं पेनाल्टीमा चुकेपछि पाराग्वेका लागि जोसे क्यानाले निर्णायक गोल गरे ।  पाराग्वेका लागि गोलरक्षक ओरलान्डो गिलले जर्मनीका दुई प्रहार रोके।

जर्मनीका गोलरक्षक म्यानुएल नोयाले पनि दुई बचाउ गरे।  निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको हो।

पाराग्वेले ४२ औं मिनेटमा जुलियो एनसिसोको गोलले अग्रता लिएको थियो।  तर ५४औँ मिनेटमा जर्मनीका लागि काइ हार्भटेजले बराबरी गोल फर्काए। त्यसपछि जर्मनीले खेलमा नियन्त्रणमा राख्दै लगातार आक्रमण गरे पनि गोल गर्न सकेन।

यसपछि खेल अतिरिक्त समयमा धकेलियो।

अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।