होटलको ग्यास भण्डारणबारे अतिरञ्जित प्रचार नगर्न नेपाल जर्मन उद्योग वाणिज्य संघको आग्रह

  • Clock icon
    २०८३ श्रावण २९, शुक्रबार

काठमाडौं,  होटलको आकार, दैनिक सञ्चालन र वास्तविक आवश्यकतालाई बेवास्ता गरी एलपी ग्यासको स्टकलाई मात्र आधार बनाएर अतिरञ्जित प्रचार गरिएको भन्दै नेपाल जर्मन उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ।

संघका अनुसार र्‍याडिसन होटल काठमाडौंमा रहेका १८४ वटा ग्यास सिलिन्डर गैरकानुनी वा लुकाइएको भण्डारण नभई होटलको नियमित सञ्चालन, सिलिन्डरको रोटेसन र सुरक्षित स्टकका लागि राखिएका हुन्।

होटलमा दैनिक ६०० भन्दा बढी अतिथिका लागि तीनपटकको खाना तथा ४००-५०० कर्मचारीका लागि भोजन तयार हुने र अन्य कार्यक्रम, भोज तथा विमानस्थलस्थित सेवासमेत सञ्चालनमा रहेकाले दैनिक ५०-६० सिलिन्डरसम्म ग्यास खपत हुने संघले जनाएको छ।

संघले होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विषयमा तथ्यको पूर्ण सत्यापन, निष्पक्ष सूचना र जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताउँदै व्यवसायको वास्तविक अवस्था नबुझी गरिएको प्रचारले अन्तर्राष्ट्रिय होटल ब्रान्डसँगै नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठामा समेत असर पार्न सक्ने जनाएको छ।

संघले सम्बन्धित निकायलाई सुरक्षा र नियमनसँगै होटल तथा पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने व्यावहारिक र लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।

  • Clock icon
    २०८३ श्रावण २९, शुक्रबार