‘मास्टर्नी’ गीत हटाउँदै प्रियंका र दुर्गेशले सार्वजनिक रुपमा मागे माफी

चौतर्फी आलोचना र विरोधपछि चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका लागि सार्वजनिक गरिएको गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको छ।

उक्त गीतले शिक्षक पेसाको मर्यादामा आँच पुर्‍याएको भन्दै सर्वत्र विरोध भएपछि गायक दुर्गेश थापा र अभिनेत्री एवं निर्मात्री प्रियंका कार्कीले शुक्रबार राति छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा हात जोडेर माफी मागेका हुन्।

गायक दुर्गेश थापाले आफ्ना दर्शक र शुभचिन्तकहरूको भावनाको सम्मान गर्दै ‘मास्टर्नी गीतलाई आफ्नो आधिकारिक युट्युब च्यानल र अन्य सामाजिक सञ्जालबाट हटाएको जानकारी दिएका छन्।

उनले शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानका पात्र भएको बताउँदै मनोरञ्जनका लागि तयार पारिएको सामग्रीले अन्जानमै कसैको भावनामा ठेस पुगेकोमा क्षमायाचना गरेका हुन्। आगामी दिनमा अझ जिम्मेवार र उत्कृष्ट सिर्जना लिएर आउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

त्यसैगरी, अभिनेत्री प्रियंका कार्कीले पनि एक विज्ञप्ति जारी गर्दै उक्त गीत चलचित्रको मूल कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारका लागि मात्र बनाइएको प्रस्ट पारेकी छन्। उनले कलाकारिताका माध्यमबाट समाजको सम्मानित पेसा र व्यक्तित्वहरूमाथि नकारात्मक असर पुर्‍याउने कुनै मनसाय नरहेको उल्लेख गर्दै अन्जानमा भएको गल्तीप्रति माफी मागेकी छन्।

कार्कीले यस घटनालाई गल्ती सुधार्ने महत्त्वपूर्ण पाठका रूपमा लिएको र भविष्यमा सिर्जनाहरू छनौट गर्दा थप संवेदनशील, जिम्मेवार र सचेत रहने बताएकी छन्।

उक्त गीत सार्वजनिक भएलगत्तै नेपाल शिक्षक महासंघ लगायत विभिन्न शैक्षिक सरोकारवाला निकाय र सर्वसाधारणले यसको शब्द र प्रस्तुतीकरणप्रति कडा आपत्ति जनाएका थिए।

गीतले शिक्षकहरूको गरिमा घटाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अन्ततः निर्माण पक्ष र कलाकारले गीत हटाउने र माफी माग्ने निर्णयमा पुगेका हुन्।