काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार जारी विज्ञप्तिमा थापाले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
घटनाबारे सरकारसँग प्रश्न उठाउँदै उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्यले अझ बढी संयम, सतर्कता र जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै समयमै पर्याप्त समन्वय र सुरक्षा सतर्कता अपनाउन नसक्नु सरकारको गम्भीर सुरक्षा कमजोरी भएको उनको भनाइ छ ।
थापाले सुरक्षा निकायका प्रमुख परिवर्तन मात्र पर्याप्त नहुने उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र यसको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन् ।
उनले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न, घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन् ।
साथै, प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिको संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गर्न पनि सरकारलाई अनुरोध गरेका छन् ।
यसैबीच, थापाले सबै पक्षलाई संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । उनले अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप जटिल हुन नदिन तथा शान्ति र सद्भाव कायम राख्न स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
