काठमाडौं । वरिष्ठ कलाकार बसुन्धरा भुसालले नेपालमा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘आमा’ मा अभिनय गर्ने अवसर आफूले संयोगवश पाएको बताएकी छन् ।
चलचित्र विकास बोर्डद्वारा आयोजित ‘ओल्ड इज गोल्ड’ कार्यक्रमअन्तर्गत ‘आमा’ चलचित्रको विशेष प्रदर्शनका अवसरमा आफ्नो अनुभव सुनाउँदै उनले त्यतिबेला आफू राष्ट्रिय नाचघरमा नभई नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा संगीतको तीनवर्षे प्रशिक्षण लिइरहेको बताइन् ।
‘म त्यसबेला राष्ट्रिय नाच घरमा जागिरे थिएन । बालकलाकार थिएँ । राष्ट्रिय नाचघरमा नभइ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीतमा तीन वर्षे कोर्ष गरिरहेको थिए । एकदिन क्लास छुटेपछि भुवन चन्दलाई भेट्न गए । ०१४ सालमा उहाँले गाउनुभएको गीतमा मंैले नृत्य गरेकी थिएँ । त्यसपछि उहाँसँगै सुटिङ हेर्न जाने अवसर पाएँ,’ उनले भनिन् ।
भुसालले पहिलो पटक शिवशंकर र भुवन चन्दको गीत ‘हामी सिर्जनाको कृतिको जगत्मा’ को छायांकन हेर्न गएको स्मरण गरिन् । ‘त्यसबेला म भुवनदीको रातो कोट समातेर छेउमा बसेकी थिएँ । निर्देशक हिरासिंह खत्रीले मलाई त्यहीँ देख्नुभएछ,’ उनले सुनाइन् ।
उनका अनुसार हिरासिंह खत्रीले तत्कालै चलचित्रमा अभिनय गर्ने प्रस्ताव राखेका थिए । ‘उहाँले ‘फिल्ममा काम गर्छौ?’ भनेर सोध्नुभयो । मैंले ‘हेरेर गरौँला’ भन्ने जवाफ दिएको थिएँ,’ उनले सम्झिँदै भनिन् ।
भुसालले आफूले चलचित्रमा अभिनय गर्ने अवसर पाउनुमा भुवन चन्दको महत्वपूर्ण भूमिका रहेको बताइन् । ‘यदि उहाँले मलाई त्यहाँ लैजानुभएको नभएको भए निर्देशकले देख्नुहुन्नथ्यो र मंैले त्यो अवसर पनि पाउने थिइनँ। मेरो जीवनको त्यो एउटा अविस्मरणीय क्षण हो,’उनले भनिन् ।
उनले भुवन चन्दले आफ्नो सांगीतिक र सांस्कृतिक यात्रामा विभिन्न चरणमा साथ दिएको उल्लेख गर्दै, त्यसैको निरन्तरताका रूपमा ‘आमा’ चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त भएको बताइन् ।
प्रदर्शनपछि कलाकारहरु भुवन चन्द, चैत्यदेवी सिंहलगायतले आफ्नो अनुभव सुनाएका थिए ।
