युरोपेली बजारमा चिनियाँ मोटरसाइकलको दबदबा

एजेन्सी । केही मोटरसाइकल चालकका लागि आफ्नो मोटरसाइकलको वास्तविक परीक्षण सडक सकिएपछि सुरु हुन्छ । चेक गणतन्त्रको भिलानेकमा हुने यस्तो परीक्षणमा हिलो, ढुंगा, ठाडो उकालो र तीव्र गतिसँग जुध्नुपर्छ ।

त्यही ट्र्याकमा युरोपेली ¥याली च्याम्पियन टोमास भालाल पनि नयाँ मोटरसाइकल परीक्षण गरिरहेका छन्। यस पटक उनी चिनियाँ कम्पनी सीएफमोटोले निर्माण गरेको मोटरसाइकलमा प्रतिस्पर्धा गर्दैछन्।

युरोपेली ¥याली च्याम्पियन टोमास भालाल भन्छन्,‘यसको डिजाइन निकै राम्रो, कम्प्याक्ट र हलुका छ। यो भारी छैन।’

युरोपमा सीएफमोटो च्यालेन्ज आयोजना हुन थालेको यो दोस्रो वर्ष हो। चेक गणतन्त्र र स्लोभाकियामा हुने छनोट प्रतियोगिताबाट उत्कृष्ट चालकहरू स्पेनमा हुने विश्वस्तरीय फाइनलमा सहभागी हुनेछन्।

गत वर्ष अस्ट्रेलियाको कठिन भूभागमा भएको फाइनलमा १८ भन्दा बढी देशका ७२ चालकले प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये मातेय ओलिभा पनि एक थिए।

उनका अनुसार चिनियाँ मोटरसाइकलले युरोपको रेसिङ संस्कृतिमा परिवर्तन ल्याउनुका साथै बजारलाई समेत नयाँ दिशातर्फ लैजाँदैछन्।

सीएफमोटो चालक मातेय ओलिभा भन्छन्,‘ मलाई पहिलेको समय याद छ, जतिबेला सबै कुरा परम्परागत सुपरबाइककै वरिपरि हुन्थ्यो। यदि अफरोड चलाउन वा यात्रामा जान चाहे भने बीएमडब्ल्यू वा केटीएमबाहेक अर्को विकल्प नै थिएन। तर अहिले मानिसहरूको सोच परिवर्तन भएको छ। उनीहरू आफ्नो पैसाको उचित मूल्य चाहन्छन्।’

यो परिवर्तन मोटरसाइकल बिक्रीको तथ्यांकमा पनि देखिन थालेको छ । विज्ञहरूका अनुसार युरोपका पाँच ठूला मोटरसाइकल बजारमा गत वर्ष युरोपेली र जापानी ब्रान्डका मोटरसाइकलको दर्ता झण्डै १३ प्रतिशतले घटेको थियो।

ब्र्नोस्थित एमटीटी मोटरसाइकल्सका मार्टिन टिचीका लागि भने बजारमा आएको यही परिवर्तन ठूलो व्यावसायिक अवसर बनेको छ । उनको डिलरशिपले हालै सीएफमोटोको १० लाखौँ मोटरसाइकल बिक्रीको अवसर मनाएको थियो ।

तर विज्ञहरूका अनुसार चिनियाँ मोटरसाइकलको आकर्षण केवल कम मूल्यमा सीमित छैन ।

सेल्सम्यान यान डोनाहल भन्छन्,‘ग्राहकहरू मोबाइल फोनसँग जोडिने डिस्प्ले र नेभिगेसनजस्ता प्रविधि खोजिरहेका छन्। मानिसहरू दिनभर मोटरसाइकलमा बसेर नक्सामा जहाँ औँला राख्छन्, त्यहीँसम्म पुग्न चाहन्छन्।’

सीएफमोटो युरोपमा सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको मोटरसाइकल ब्रान्डमध्ये एक हो। चीनका क्यूजे मोटर, भोगे र जोन्टेसजस्ता ब्रान्डहरूले पनि युरोपेली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदैछन्।

यससँगै युरोपका सडकमा चिनियाँ मोटरसाइकलको गर्जन अझ ठूलो हुँदै जाने संकेत देखिएको छ।