भोटेकोशी बाढीपीडितलाई मातृभूमि लघुवित्तको ५ लाख सहयोग

काठमाडौं । हालैको भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। विपद्का कारण परिवार, घरबार तथा दैनिक जीवनमा ठूलो क्षति व्यहोर्नुपरेका प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै संस्थाले राहत प्रयासमा आफ्नो तर्फबाट सहयोग गरेको हो।

बाढीले पुर्‍याएको क्षतिका कारण धेरै परिवार अहिले पनि कठिन परिस्थितिबाट गुज्रिरहेका छन्। यस्तो संवेदनशील समयमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट भइरहेका राहत प्रयासमा हातेमालो गर्दै पीडित नागरिकको तत्कालीन आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो।

मातृभूमि लघुवित्तले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पाटो भएको जनाएको छ। संस्थाको सहयोगले बाढीबाट प्रभावित परिवारलाई केही राहत र हौसला मिल्ने विश्वास गरिएको छ।

बाढी तथा पहिरोबाट ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकको सुरक्षित खोजी र उद्धारका लागि कामना गरिएको छ।