ग्लोबल आइएमई क्यापिटलले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीका अनुसार १५ प्रतिशत बोनस सेयरका लागि ७ करोड ४० लाख ८७ हजार रुपैयाँ र १० प्रतिशत नगद लाभांशका लागि ४ करोड ९३ लाख ९१ हजार रुपैयाँ वितरण हुनेछ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी असोज १४ गते काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा आफ्नो १९औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान साढे ८ बजे सुरु हुनेछ ।

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने प्रस्तावमाथि निर्णय गर्नेछ । यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत लाभांश भने वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।