बाढी प्रभावित नेपाललाई श्रीलंकाद्वारा १० लाख अमेरिकी डलर मानवीय सहायता

  • Clock icon
    २०८३ भाद्र २६, शुक्रबार

काठमाडौं । श्रीलंकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई १० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता प्रदान गरेको छ।

गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै श्रीलंकाले नेपाललाई मानवीय सहायता उपलब्ध गराएको हो।

श्रीलंका सरकारको प्रतिबद्धताअनुसार नेपालका लागि श्रीलंकाकी राजदूत रुवन्थी डेल्पिटियाले बुधबार नेपाल सरकारलाई १० लाख अमेरिकी डलरको आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन्। श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेको निर्देशनमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो।

राजदूत डेल्पिटियाले उक्त आर्थिक सहयोग नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा आयोजित भेटका क्रममा हस्तान्तरण गरेकी हुन्।

भेटका क्रममा राजदूत डेल्पिटियाले श्रीलंका सरकार र जनताको तर्फबाट नेपालका बाढी प्रभावित नागरिकप्रति गहिरो सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गरिन्। उनले विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरिन्।

श्रीलंकाले उपलब्ध गराएको आर्थिक सहायता नेपाल सरकारले सञ्चालन गरिरहेको मानवीय सहायता, उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, बाढी तथा पहिरोबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न पनि उक्त सहयोग उपयोगी हुने श्रीलंकाले जनाएको छ।

नेपाललाई आर्थिक सहायता हस्तान्तरणले नेपाल र श्रीलंकाबीच लामो समयदेखि कायम रहेको मित्रता, ऐक्यबद्धता र सहकार्यलाई थप प्रतिबिम्बित गरेको श्रीलंकाली दूतावासले जनाएको छ।

विपद्को यस कठिन घडीमा श्रीलंका नेपाल र नेपाली जनताको साथमा रहेको जनाउँदै दूतावासले आगामी दिनमा पनि नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगका सम्भावित क्षेत्र पहिचान गर्ने जनाएको छ।

  • Clock icon
    २०८३ भाद्र २६, शुक्रबार