काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड र अरुण भ्याली हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। दुवै कम्पनीले बोनस सेयरसँगै कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेका हुन्।
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको चुक्ता पुँजी ३४ करोड रुपैयाँ रहेकाले प्रस्तावित बोनस सेयरको रकम ३ करोड ४० लाख रुपैयाँ बराबर हुनेछ।
त्यस्तै, कम्पनीले कर प्रयोजनका लागि १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले प्रस्ताव गरेको लाभांश सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि र आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।
यता, अरुण भ्याली हाइड्रोपावरले पनि आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले चुक्ता पुँजीको ५ दशमलव २६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश प्रस्तावसँगै कम्पनीले आफ्नो २९औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन सेयर दाखिला बन्द गर्ने जनाएको छ।
यसअनुसार असोज १३ गतेसम्म कायम रहेका सम्बन्धित सेयरधनीले कम्पनीको साधारणसभामा सहभागी हुने तथा प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।
