अब कार्यालय समयपछि पनि बैंकिङ सेवा, राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो सन्ध्याकालीन काउण्टर

काठमाडौं । सेवाग्राहीको सुविधा र बदलिँदो बैंकिङ आवश्यकतालाई ध्यानमा राख्दै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कार्यालय समयपछि पनि बैंकिङ सेवा उपलब्ध गराउने गरी सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले सिंहदरबारप्लाजास्थित कर्पोरेट शाखाबाट भदौ २२ गतेदेखि नियमित कार्यालय समय सकिएपछि थप एक घण्टा सन्ध्याकालीन काउण्टर सेवा सुरु गरेको हो।

नयाँ व्यवस्थाअनुसार ग्राहकले साँझ ५ बजेदेखि ६ बजेसम्म काउण्टरबाट चेक भुक्तानी, नगद जम्मा लगायतका सीमित बैंकिङ सेवा लिन सक्नेछन्।

कार्यालय समयभित्र बैंकिङ सेवा लिन भ्याउन नसक्ने सेवाग्राहीका लागि यो सुविधा थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी व्यस्त कार्यतालिका भएका ग्राहकले नियमित कार्यालय समयपछि पनि आवश्यक बैंकिङ कारोबार गर्न सक्ने भएकाले यसले ग्राहकको समय बचत गर्नुका साथै बैंकिङ सेवालाई थप सहज र पहुँचयोग्य बनाउने देखिन्छ।

राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै सेवा विस्तार तथा सुधार गर्दै आएको छ। सन्ध्याकालीन काउण्टर सेवाले ‘ग्राहकको समयअनुसार बैंकिङ सेवा’ भन्ने अवधारणालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।