काठमाडौं। नेपालमा मोबाइल फोन अझै सीमित वर्गको पहुँचमा रहेको समयदेखि आज हातहातमा तीव्र गतिको इन्टरनेट र डिजिटल सेवा पुगेको अवस्थासम्मको यात्रामा एनसेलको २१ वर्षे इतिहास जोडिएको छ। सन् २००५ मा ‘मेरो मोबाइल’ नामबाट व्यावसायिक सेवा सुरु गरेको एनसेलले दुई दशकभन्दा लामो यात्रामा नेपालको दूरसञ्चार क्षेत्रको विकास, प्रविधिको विस्तार र डिजिटल जीवनशैलीमा आएको परिवर्तनसँगै आफूलाई अघि बढाउँदै आएको छ।
सन् २००४ मा कम्पनीका रूपमा दर्ता भएको एनसेलले १७ सेप्टेम्बर २००५ मा ‘मेरो मोबाइल’का रूपमा व्यावसायिक सेवा सुरु गर्दा नेपालमा मोबाइल फोन प्रयोग गर्ने जनसंख्या करिब ६ प्रतिशत मात्र थियो। त्यतिबेला मोबाइल फोन धेरैका लागि आवश्यकता भन्दा पनि विलासिताको वस्तुजस्तै थियो। एउटा सिमकार्ड लिनसमेत लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था थियो। तर, निजी क्षेत्रको प्रवेशसँगै नेपालको दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढ्यो र सेवा तथा प्रविधिमा तीव्र परिवर्तनको बाटो खुल्यो।
एनसेलको विकास यात्रा केवल ग्राहक संख्या बढाउने वा दूरसञ्चार सेवा विस्तार गर्ने विषयमा मात्र सीमित रहेन। देशका दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा समेत सञ्चार पहुँच विस्तार गर्ने प्रयासले नेपालमा डिजिटल पहुँचको दायरा फराकिलो बनाउन योगदान पुर्यायो। सन् २०१० मा सगरमाथा क्षेत्रसम्म 3G सेवा विस्तार गर्नु त्यस यात्राको महत्वपूर्ण उदाहरण बन्यो। त्यसपछि सन् २०१७ मा 4G/एलटीई सेवा सुरु गर्दै एनसेलले उच्च गतिको मोबाइल इन्टरनेटलाई नेपाली उपभोक्ताको दैनिक जीवनसँग जोड्ने दिशामा अर्को महत्वपूर्ण कदम अघि बढायो।
आज एनसेलले १ करोड ४० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ। कम्पनीका अनुसार 4G सेवाले देशको करिब ९५ प्रतिशत जनसंख्यालाई समेटेको छ। यसले मोबाइल फोनलाई केवल कुराकानी गर्ने माध्यमबाट शिक्षा, सूचना, व्यवसाय, मनोरञ्जन, बैंकिङ तथा अन्य डिजिटल सेवामा पहुँचको महत्वपूर्ण साधनका रूपमा स्थापित गर्न सहयोग पुर्याएको देखिन्छ।
पछिल्ला वर्षमा एनसेलले परम्परागत मोबाइल सेवाभन्दा बाहिर पनि डिजिटल प्रविधिको विस्तारलाई प्राथमिकता दिएको छ। VoLTE मार्फत उच्च गुणस्तरको आवाज सेवा, eSIM, नयाँ ९७० नम्बर सिरिज तथा आधुनिक मोबाइल ब्रोडब्यान्डतर्फको संक्रमणले नेपालको दूरसञ्चार क्षेत्रलाई नयाँ प्रविधिसँग जोड्ने प्रयासलाई निरन्तरता दिएको छ। पुरानो 3G पूर्वाधारलाई क्रमशः आधुनिक मोबाइल ब्रोडब्यान्ड प्रविधितर्फ लैजाने प्रक्रिया पनि त्यसैको हिस्सा हो।
डिजिटल कनेक्टिभिटीलाई अझ फराकिलो बनाउने क्रममा एनसेलले WireFree Plus राउटरमार्फत घर तथा कार्यालयका लागि ब्रोडब्यान्ड सेवाको विकल्प विस्तार गरेको छ। त्यस्तै, BYD विद्युतीय सवारीसाधनसँगको सहकार्यमार्फत सवारीभित्र डिजिटल सेवाको प्रयोगलाई समेत अघि बढाउने प्रयास गरेको छ। यसले दूरसञ्चार सेवा अब मोबाइल फोनमा मात्र सीमित नरही घर, कार्यालय, सवारीसाधन र दैनिक जीवनका विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको संकेत गर्छ।
एनसेलको २१ वर्षे यात्रा नेपालको आर्थिक तथा सामाजिक परिवर्तनसँग पनि जोडिएको छ। मोबाइल तथा इन्टरनेट सेवाको विस्तारले मानिसबीचको सञ्चारलाई सहज बनाउनुका साथै व्यवसाय सञ्चालन, सूचना आदानप्रदान, डिजिटल कारोबार, शिक्षा र रोजगारीका नयाँ सम्भावनासम्म पहुँच विस्तार गर्न भूमिका खेलेको छ। विशेषगरी दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार हुनु सूचना र अवसरको पहुँचका दृष्टिले महत्वपूर्ण मानिन्छ।
‘मेरो मोबाइल’बाट सुरु भएको यात्रा आज डिजिटल कनेक्टिभिटीको फराकिलो संसारसम्म आइपुगेको छ। २१औँ वार्षिकोत्सवका अवसरमा एनसेलले विगतका उपलब्धिलाई स्मरण गर्दै भविष्यमा अझ आधुनिक, भरपर्दो र पहुँचयोग्य डिजिटल सेवातर्फ अघि बढ्ने यात्रालाई निरन्तरता दिने सन्देश दिएको छ।