कुमारी बैंकमा राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण खातावालालाई बैंक खातामा राष्ट्रिय परिचयपत्र नम्बर वा राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ मा गरिएको संशोधित व्यवस्थाअनुसार बैंक खातामा राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्नु अनिवार्य गरिएको भन्दै बैंकले ग्राहकलाई यस्तो आग्रह गरेको हो।

ग्राहकको सहजतालाई ध्यानमा राख्दै कुमारी बैंकले राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न विभिन्न भौतिक तथा डिजिटल माध्यम उपलब्ध गराएको जनाएको छ।

शाखाबाटै विवरण अद्यावधिक गर्न सकिने

राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका खातावालाले आफूलाई पायक पर्ने कुमारी बैंकको नजिकको शाखामा पुगेर आफ्नो राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्न सक्नेछन्।

त्यस्तै, ग्राहकले कुमारी बैंकको कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत पनि राष्ट्रिय परिचयपत्रको विवरण सजिलै अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ।

यसका अतिरिक्त बैंकको आधिकारिक वेब सेवा पोर्टल services.kumaribank.com मार्फत पनि अनलाइनबाटै विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकलाई छिटो लिन आग्रह

हालसम्म राष्ट्रिय परिचयपत्र प्राप्त नगरेका खातावालालाई बैंकले यथाशीघ्र राष्ट्रिय परिचयपत्रका लागि आवेदन गरी प्राप्त गर्न आग्रह गरेको छ।

राष्ट्रिय परिचयपत्र प्राप्त गरेपछि उक्त विवरण बैंकमा अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ।

ग्राहकलाई विवरण अद्यावधिक गर्ने क्रममा कुनै समस्या, जानकारी वा अन्य सहयोग आवश्यक परेमा नजिकको कुमारी बैंक शाखामा सम्पर्क गर्न सकिनेछ।

त्यस्तै, थप जानकारी तथा सहयोगका लागि बैंकको ९८५१०७८८८८ वा ०१–५९७०४९९ नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

बैंकले नियामकीय व्यवस्थाअनुसार ग्राहकको खातासम्बन्धी विवरण अद्यावधिक गर्ने प्रक्रियालाई सहज बनाउन शाखा, मोबाइल बैंकिङ तथा अनलाइन सेवामार्फत सुविधा उपलब्ध गराएको हो।