अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध अमेरिकी हवाई आक्रमण अन्तिम समयमा रोकेको रिपोर्ट सार्वजनिक भएको छ ।
यससँगै हुथी लडाकुहरूले सोमबार यमनका रणनीतिक उच्च भूभाग कब्जा गर्ने प्रयास तीव्र बनाएका छन् । उनीहरूको उद्देश्य लाल सागरको तटलाई साउदी समर्थित सरकारको नियन्त्रणमा रहेका बाँकी क्षेत्रबाट अलग गर्नु रहेको बताइएको छ ।
इरान समर्थित हुथी समूहले यसै महिना तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरेपछि मध्यपूर्वको जारी द्वन्द्व नयाँ क्षेत्रमा फैलिएको छ ।
यसले विश्वव्यापी ऊर्जा आपूर्तिमाथिको जोखिम पनि बढाएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले यमनमा जारी लडाइँमा सहभागी हुन अमेरिकालाई पटक–पटक आग्रह गरे पनि वासिङ्टनले अहिलेसम्म त्यसलाई अस्वीकार गर्दै आएको छ ।
‘द न्युयोर्क टाइम्स’ले साउदी युवराजको पछिल्लो आग्रहपछि ट्रम्प प्रशासनले आइतबार हुथीविरुद्ध हवाई आक्रमण गर्ने तयारी गरेको जनाएको छ ।
तर अमेरिकी सैनिकहरूले विमानमा बम लोड गरिरहेको समयमै ट्रम्पले अन्तिम क्षणमा आक्रमण रोक्न आदेश दिएको पत्रिकाले उल्लेख गरेको छ ।