तेन्जिङ एसियाडमा पदक जित्ने करातेका पाँचौं नेपाली खेलाडी

नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले २०औं एसियाली खेलकुद (एसियाड) कांस्य पदक जित्दै एसियाडमा नेपालका लागि करातेमा पदक जित्ने पाँचौं खेलाडी बनेका छन्। पुरुष ८४ केजीमाथिको कुमितेमा तेन्जिङले आज बुधबार कांस्य पदक जितेका हुन्।

तेन्जिङसँगै एसियाडमा नेपालका लागि करातेमा पदक जित्ने खेलाडीको संख्या पाँच पुगेको छ। सन् १९९४ को हिरोसिमा एसियाडमा सीता राईले नेपालका लागि करातेको पहिलो कांस्य पदक जितेकी थिइन्।

त्यसपछि १९९८ को बैंकक एसियाडमा समरबहादुर गोलले र २०१४ को इन्चोन एसियाडमा बिमला तामाङले एकल कातामा कांस्य पदक जितेका थिए।

२०२३ को हान्झाउ एसियाडमा भने नेपालका लागि एरिका गुरुङले रजत पदक जितेकी थिइन् । एसियाडको करातेमा रजत जित्ने एरिका एक्लो नेपाली हुन्। यो पटक भने एरिका पदक जित्न असफल रहिन्।

समग्रमा तेन्जिङको कांस्य एसियाडमा नेपालको २४औं कांस्य पदक हो। नेपालले एसियाडमा हालसम्म ३ रजत र २४ कांस्य पदक जितेको छ।

तेन्जिङको पदक यात्रा

टोयाहासी जिम्नेसियममा बुधबार भएको कांस्य पदक ९रिपिचेज० भिडन्तमा तेन्जिङले लाओसका भाथाना सायासनलाई ९–१ ले पराजित गर्दै पदक पक्का गरे।

तेन्जिङको पदक यात्राको सुरुवात भने क्वार्टरफाइनलबाटै रोचक रह्यो। उनले मकाउका लिओङ अन टेकसँग प्रतिस्पर्धा गरेका थिए। खेलमा तेन्जिङले अंक जोड्न नसके पनि लिओङ हान्सोकुमा परेपछि उनी विजेता घोषित भए।

कराते कुमितेमा हान्सोकु गम्भीर नियम उल्लंघनका कारण खेलाडी अयोग्य हुने निर्णय हो। क्वार्टरफाइनलमा लिओङ एक अंकमा रहँदा तेन्जिङको स्कोर शून्य थियो। तर प्रतिद्वन्द्वी खेलाडी हान्सोकुमा परेपछि तेन्जिङ सेमिफाइनल पुगे।

सेमिफाइनलमा भने तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भए। नेमाती फाइनल पुगेपछि तेन्जिङले कांस्य पदकका लागि प्रतिस्पर्धाको मौका पाएका थिए।

तेन्जिङलाई हराएका नेमातीले फाइनलमा साउदीका सन्द हासान सुफियानीलाई ६-३ ले हराउँदै स्वर्ण पदक जिते ।