आज कुलेखानी जलाशयमा बढ्यो पानी, साइरनमार्फत पूर्वसूचना

मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह केही बढेको छ। अविरल वर्षासँगै जलाशयमा आज शनिबार बिहान पानीको सतह १ हजार ५२३ दशमलव ९० मिटर पुगेको हो।

शुक्रबार हिजो राति १२ बजेसम्म उक्त जलाशयमा १ हजार ५२३.६० मिटर पानी थियो।

कुलेखानी प्रथम जलविद्युत् आयोजनाका कार्यालय प्रमुख प्रल्हाद राउतका अनुसार जलाशयमा हाल मापन गरिएको पानीको सतह जोखिमपूर्ण अवस्थामा पुगेको छैन।

जलाशयमा अधिकतम १ हजार ५३० मिटरसम्म पानी भण्डारण गर्न सक्ने क्षमता छ।

पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि साइरन बजाउने तयारी गरिएको राउतले बताए।

हालको पानीको सतह अधिकतम भण्डारण क्षमताभन्दा करिब ६ मिटर तल रहेकाले तत्काल जोखिमको अवस्था नरहेको उनको भनाइ छ।

अविरल वर्षाका कारण जलाशयमा पानीको सतह थप बढ्न सक्ने भएकाले आयोजनाले पानीको सतह र जलाशयमा भइरहेको पानीको आगमनलाई निरन्तर निगरानी गरिरहेको छ।

हाल भने कुलेखानी जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको राउतले बताए।

विद्युत् उत्पादनका लागि सबै मेसिनहरू चलाइदा पानी धेरै भरिन नपाएको कार्य प्रमुख राउतको भनाइ छ।

जलाशयमा पानीको सतह निर्धारित तहमा पुगेपछि साइरनमार्फत पूर्वसूचना दिने व्यवस्था रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको आयोजनाले जनाएको छ।