धर्मगुरुको नाममा ठगी

धर्मको आवरणमा ठगी र यौन शोषण गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका ‘शिवसुत गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्लेको बन्दी प्रत्यक्षीकरणको रिट पेशी चढेको छ ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गर्दै उनले सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि पेशी तोकिएको हो । न्यायाधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलास नम्बर २ को क्रमसंख्या ‘ख’ मा सो मुद्दा रहेको छ ।

सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका उनीविरुद्ध तीन करोड रुपैयाँभन्दा बढी ठगेको आरोपसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको थियो । राजनीतिक दलका नेता, प्रहरीका बहालवाला तथा पूर्व अधिकारी लगायतसँग फोटो खिचाउने र त्यहीँ फोटो देखाएर ठगी गरेको आरोपमा उजुरी परेपछि उनी फरार थिए ।

सीआईबीले डिएसपी नेतृत्वको एक टोली भारतको हरिद्धार पठाएर उनलाई २०८० असारमा पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा थुनामुक्त गर्न माग गर्दै काफ्ले सर्वोच्च गुहार्न पुगेका हुन् । उनले काठमाडौं जिल्ला अदालत, कारागार कार्यालय जगन्नाथदेवल र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएका छन् ।