हिमपातले उवा भित्र्याउनै समस्या, पाकेको बाली खेतमै ढल्यो

हिमाली क्षेत्रमा भारी हिमपात सुरु भएपछि त्यहाँको वर्षमा एक पटक मात्रै उत्पादन हुने प्रमुख खाद्यबाली उवा भित्र्याउन किसानलाई समस्या भएको छ । लगातारको हिमपातका कारण खेतबारीमा पाक्न लागेको उवा ढलेर नष्ट हुन थालेपछि किसान चिन्तित भएका छन् ।

हिमपातका कारण किसान खेतबारीमा पुगेर उवा काट्न तथा भित्र्याउन नसक्ने अवस्था आएको हो । पाक्न लागेको उवा बाक्लो हिउँले पुरिएपछि कतिपय ठाउँमा बोट ढलेर सोतर बनेको डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए ।

‘उवा पाक्ने समय भएको थियो, तर एक्कासी भारी हिमपात भएपछि किसान खेतमा जान सक्ने अवस्था छैन,’ उनले भने, ‘पाकेको उवा हिउँले ढलाउँदा बालीमा क्षति पुग्न थालेको छ । समयमै मौसम खुलेर उवा भित्र्याउन नपाए किसानलाई ठुलो समस्या हुन सक्छ ।’

डोल्पाको उपल्लो क्षेत्रमा उवा मुख्य खाद्यान्न बालीका रूपमा खेती हुँदै आएको छ । विशेष गरी शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च हिमाली बस्तीमा उवा खेती हुने गरेको छ । चिसो हावापानी र छोटो खेतीयोग्य समयका कारण यहाँ वर्षमा एक पटक मात्रै उवा उत्पादन हुने भएकाले यसमा हुने क्षतिले स्थानीय खाद्य सुरक्षामै असर पार्न सक्ने स्थानीय बताउँछन् ।

उवा पाक्ने समयमै हिमपात भएपछि किसानले खेतमा गएर बाली काट्ने, सुकाउने र भण्डारण गर्ने काम प्रभावित भएको छ । बाक्लो हिउँ लामो समयसम्म जमिरहेमा खेतमा ढलेको उवा कुहिने तथा दाना झर्ने जोखिमसमेत बढेको किसानको भनाइ छ ।

डोल्पाको उपल्लो भेगमा मात्रै नभई हुम्लाका उच्च हिमाली क्षेत्रमा पनि हिमपातका कारण उवा लगायतका कृषि उत्पादन प्रभावित हुन थालेका छन् । हुम्लाका नाम्खा, सिमकोटको उच्च क्षेत्रलगायतका हिमाली बस्तीमा हिमपात भएपछि किसानलाई पाकेको बाली भित्र्याउन समस्या भएको स्थानीयले बताएका छन् ।

हिमाली क्षेत्रमा उवा स्थानीय बासिन्दाको मुख्य खाद्यान्नमध्ये एक हो । लामो समयसम्म हिउँ पर्ने र यातायातको सहज पहुँच नहुने भएकाले स्थानीय उत्पादनमै निर्भर रहनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा वर्षमा एक पटक उत्पादन हुने उवा खेतमै नष्ट भएमा आगामी महिनामा खाद्यान्नको अभाव हुन सक्ने चिन्ता स्थानीयको छ ।

स्थानीय तहका जनप्रतिनिधिले हिमपातको अवस्था हेरेर किसानलाई सम्भव भएसम्म सुरक्षित स्थानमा बाली भित्र्याउन तथा क्षतिको विवरण संकलन गर्न आग्रह गरेका छन् । लगातारको हिमपातका कारण उच्च हिमाली क्षेत्रमा जनजीवनसँगै कृषि, पशुपालन र आवतजावतसमेत प्रभावित भएको छ ।

उवा भित्र्याउने समयमा नै हिमपात सुरु भएपछि किसानले यस वर्ष उत्पादनमा कमी आउने अनुमान गरेका छन् । मौसममा सुधार आएपछि तत्काल खेतमा पुगेर ढलेको उवा उठाउने र सुरक्षित रूपमा भण्डारण गर्ने तयारीमा किसान छन् ।