छोराको मानव अधिकार संरक्षणको माग गर्दै चतुर्भुज भट्ट मानव अधिकार आयोगमा

  • Clock icon
    २०८३ आश्विन २३, शुक्रबार

काठमाडौं । आफ्नो छोरा दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हकको संरक्षणको माग गर्दै चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। बिहीबार पुल्चोकस्थित आयोगको कार्यालयमा निवेदन दर्ता गराउँदै उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन्।

चतुर्भुज भट्टले विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा आफ्नो छोरालाई दोषीका रूपमा चित्रण गर्ने र सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने प्रकृतिका समाचार प्रकाशित भएको दाबी गरेका छन्। विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने समाचारप्रति उनले आपत्ति जनाएका छन्।

त्यस्तै, गत असोज १७ गते दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको विषयमा पनि उनले प्रश्न उठाएका छन्। सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे जानकारी नदिइएको भन्दै उनले सम्बन्धित निकायसँग जवाफ माग गरेका छन्।

यसअघि कारागार सरुवाको कारण र नख्खु कारागारमा रहँदाको आचरणबारे जानकारी माग गर्दै नख्खु कारागार तथा कारागार व्यवस्था विभागमा निवेदन दिएको भए पनि जानकारी प्राप्त नभएको उनको भनाइ छ। प्रकाशित समाचारबारे आवश्यक छानबिन गर्न माग गर्दै उनले प्रेस काउन्सिल नेपालमा समेत निवेदन दिएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमार्फत उनले सञ्चारमाध्यममा प्रकाशित सामग्रीको छानबिन, कारागार सरुवासम्बन्धी कागजातको अध्ययन र आवश्यक अनुगमन गर्न माग गरेका छन्। साथै, सरुवाको औचित्य विचार गरी छोरालाई पुनः नख्खु कारागारमा फर्काउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेका छन्।

चतुर्भुज भट्टले आफू कुनै पनि अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध गर्न नचाहेको स्पष्ट पार्दै सत्यतथ्यको निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको सम्मान र छोराको मानव अधिकार संरक्षण नै आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।

  • Clock icon
    २०८३ आश्विन २३, शुक्रबार