प्रारम्भिक सूचना तथा भूउपग्रह तस्बिरलाई आधार मान्दा आज आइतबार बिहान गोरखाको बुढीगण्डकी नदीमा एक्कासि भीषण बाढी आउनुको कारण पहिरोले नदी थुनिएर फुटेको हुन सक्ने अनुमान गरिएको छ।
बूढीगण्डकी बाढी:४ जलविद्युत् आयोजनामा क्षति
तर घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।
बुढीगण्डकी नदी बग्ने चुमनुब्री गाउँपालिका -३ फिलिममा सुक्खा पहिरो गएर खोला थुनिएको प्रारम्भिक अध्ययनमा देखिएको केन्द्रअन्तर्गतको बाढी केन्द्रका उप कार्यकारी निर्देशक डा. राजन भट्टराईले जानकारी दिए ।
गत भदौ १० तिब्बतको ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोसी नदीमा मिसिएको बाढीजस्तै बुढीगण्डकीमा पनि लेदोसहितको बाढी आएकाले चुमनुब्रीको माथिल्लो भागमा रहेको हिमाली क्षेत्रमा पहिरो गएको हुन सक्ने सम्भावना पनि छ।
यद्यपि अहिलेसम्म हिमपहिरो नै गएको हो कि होइन एकिन भइनसकेको निर्देशक भट्टराईले बताए।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका-६, तुम्जेस्थित बुढीगण्डकी नदीको सहायक नदीतर्फबाट आएको आकस्मिक बाढीका सम्बन्धमा बाढी पूर्वानुमान शाखामा आज बिहान ६ बजे प्रारम्भिक जानकारी प्राप्त भएको थियो।
‘उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा छिटपुट मात्र वर्षा भएको देखिएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना देखिँदैन’, केन्द्रद्धारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक सूचना तथा भूउपग्रह तस्बिरहरूको अवलोकनका आधारमा पहिरोले नदी थुनिएर फुट्न गई एक्कासि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ।’
