स्वच्छ हातको सन्देश नागरिकसम्म पुर्याउन राष्ट्रपतिको आग्रह

  • Clock icon
    २०८३ आश्विन २९, बिहीबार

आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ ।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको बताएका छन् ।

आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले विभिन्न रोगबाबाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

२० सेकेन्डसम्म हात धुऔं

साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।